काठमाडौं। यो लामिन यमलको सिजन थियो। त्यसैले बार्सिलोनालाई २८औं स्पेनिस ला लिगा उपाधि दिलाउने निर्णायक गोल पनि यिनैले गर्नुपर्थ्यो। र, गरे पनि। त्यो साँच्चै अविश्वसनीय गोल थियो।
दाँतमा ब्रेसेस लगाउने १७ वर्षे यमलले बिहीबार स्पेनको दोस्रो ठूलो डर्बी खेलमा एस्पान्योलविरुद्ध २–० को जितमा पहिलो गोल गरे। दुई डिफेन्डरलाई बाहिरैबाट ‘ड्रिबल’ गर्दै उनले आफ्नो ‘ट्रेडमार्क’ बायाँ खुट्टाको कर्लर प्रहारमा गोल गरेका हुन्।
पछिल्लो १० महिनाको लिगको उत्कृष्ट समापन यसै गोलमार्फत भयो। गत वर्ष स्पेनलाई युरोपियन च्याम्पियन बनाउने महत्त्वपूर्ण भूमिका खेलेका यमलले यस सिजन बार्सिलोनाका लागि गोल, ‘ड्रिब्लिङ र प्लेमेकिङ’मा अद्भुत प्रदर्शन गर्दै आफूलाई विश्व फुटबलको नयाँ सुपरस्टारको रूपमा प्रमाणित गरेका छन्। राफिन्हा, पेड्री र अरू सहकर्मीहरूसँग मिलेर उनले बार्सिलोनालाई अपराजित बनाएका छन्।
‘म सधैं गोल गर्ने प्रयास गर्छु। आज मेरो प्रहार सफल भयो। टोलीलाई सहयोग गर्न पाउँदा निकै खुसी छु,’ उनले भने। खेलको अन्त्यतिर अर्थात ८०औं मिनेटमा एस्पान्योलका लिआन्द्रो काब्रेराले यमलको पेटमा लात प्रहार गरे। योसँगै उनले रातो कार्ड पाए। त्यसपछि फेर्मिन लोपेजले इन्जुरी समयमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे।
बार्सिलोनाले दुई खेल बाँकी छँदै उपाधि जितेको हो। यससँगै क्लबले ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जित्दै घरेलु ट्रिबेल पूरा गरेको छ। क्लब च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको थियो। तर, इन्टर मिलानसँग नजिकै पुगेर अन्तिम खेल गुमायो।
फ्लिकको टोलीले यस सिजन १५ खेल जितेको छ। २ खेल बराबरी खेलेको छ। रियल मड्रिडलाई यस सिजन चारवटै ‘क्लासिको’मा हराउँदै बार्सिलोनाले उपाधि यात्रालाई झन् मजबुत बनाएको थियो। बार्सिलोना खेलाडीले मैदानमै पानीको फोहरा सँगै नाचेर उपाधि जितेको खुसीयाली मनाए। पेड्रीले २२ वर्षको उमेरमै २०० खेल पूरा गरे। उनी भन्छन्,’हरेक दिन लिग जितिँदैन, यसको मूल्य बुझ्नुपर्छ।’
लिओनल मेसीले इन्स्टाग्राममार्फत आफ्नो पुरानो क्लबलाई बधाई पठाए। रियल मड्रिडले पनि ‘एक्स’ (ट्विटर) मा आफ्नो कट्टर प्रतिद्वन्द्वीलाई बधाई दिएको छ। हजारौं समर्थकले बार्सिलोनाको जितलाई सहरमै उल्लासमय बनाए। यमल यसको श्रेय मुख्य प्रशिक्षक फ्लिकलाई दिन्छन्।
‘हामीले जाभीसँग पनि धेरै कुरा सिक्यौं। तर, फ्लिकले हामीलाई नयाँ ऊर्जा दिएका दिनुभएको छ,’ उनी भन्छन्। तीन उपाधि जित्नु आफैंमा अद्भुत सफलता हो। फ्लिक पनि यही मान्छन्। ‘बार्सिलोनाले उपाधि जित्नै पर्छ। तीन उपाधि जित्नु अद्भुत हो। मिलानको खेलपछि केही दुख लागेको थियो। तर, अहिले क्लब र म दुवै खुसी छौं,’ उनी भन्छन्।
खेलको पहिलो हाफमा एस्पान्योलले राम्रो प्रदर्शन गर्यो। उर्को गोन्जालेजले अवसर गुमाए। तर, ५३औं मिनेटमा यमलको गोलसँगै खेल बार्सिलोनाको नियन्त्रणमा गयो। एस्पान्योलका गोलरक्षक जोआन गार्सिया (जसलाई यही समरमा बार्सिलोनाले नै अनुबन्ध गर्ने चर्चा छ) ले पूरा ‘डाइभ’ गरे पनि यमलको प्रहार रोक्न सकेनन्। ‘यमलले आज प्रशिक्षणमै दुई यस्तै गोल हानेका थिए। उसलाई हामीसँग हुँदा भाग्यमानी ठान्छौं,’ पेड्री भन्छन्।
एस्पान्योल १६औं स्थानमै रहँदा रेलिगेसन क्षेत्रभन्दा पाँच अंकमाथि छ। क्लबलाई ‘सिटी डर्बी’बाट राम्रो नतिजा आवश्यक थियो। खेल सुरु भएपछिका केही मिनेटमै स्टेडियम बाहिर भिडन्त हुँदा केही दर्शक घाइते भए। प्रहरीका अनुसार यो दुर्घटना खेलसँग असम्बन्धित थियो।