इटानगर (भारत)। भारतले साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा पहिलो हाफमा नेपालविरुद्ध फराकिलो अग्रता लिएको छ।
गोल्डेन जुब्ली स्टेडियममा जारी खेलमा भारतले २–० को अग्रता लिएको हो। भारतका रोहिन सिंह र ओमङ डोडुमले गोल गरे। नेपालले २७ मिनेटसम्म भारतलाई गोलरहित बराबरीमा रोकेको थियो।
तर, अर्को मिनेटमै डिफेन्डरको गल्तीका कारण गोल खान पुगेको हो। एमएस थोक्छुमले दिएको क्रसलाई विफल बनाउन बक्सनजिक रहेका प्रशान्त मोक्तानले फ्रि हेडर गरेका थिए। तर, आफ्नै पोस्टतिर पुग्दा रोहिनले गोल गर्ने अवसर प्राप्त गरेका हुन्। उनलाई रोक्न सुवास बम पुगे पनि सफल हुन सकेनन्।
लगत्तै नेपाली डिफेन्डरले अर्को गल्ती गर्न पुगे। तालमेल नमिल्दा कप्तान राम थापाले दिएको ब्याक पास बल भारतका डानी मेथाईले खोसेका थिए।
उनले दिएको क्रसलाई सिक्स यार्ड बक्सनजिकबाट उमंगले गोलमा परिणत गरे। उनलाई रोक्न प्रशान्त नै पुगेका थिए। तर, ओमङले छक्याउँदै सहजै गोल गर्न सफल रहे।