पथरी। प्रभात सामुदायिक युवा क्लबले दोस्रो पथरीशनिश्चरे खेलकुद महोत्सवअन्तर्गत सोमबार भएको फुटबल खेलमा जित हासिल गरेको छ। प्रभातले सडनडेथमा ६–५ ले यलम्बर युथ क्लबलाई पराजित गरेको हो।
निर्धारित ७० मिनेटको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा पनि दुवै टोलीले ५–५ गोल गर्दै बराबरी गरेपछि खेल सडनडेथमा पुगेको हो।
सडनडेथमा यलम्बरका महेन्द्र मगरको प्रहार प्रभातका गोलकिपर समीर क्षेत्रीले उत्कृष्ट बचाउ गरेपछि जित सुनिश्चित भएको हो। प्रभात क्लबको तर्फबाट टाइब्रेकरमा सौर्य राउत, सनम मुडयारी, युकेश तामाङ, धीरेन विष्ट र दिपेश मगरले गोल गरे। सडनडेथमा निर्णायक गोल दिपेन माझीले गरे।
त्यस्तै, यलम्बरको तर्फबाट सञ्जीव कुरुङबाङ, न्युचन धिमाल, रोहन न्यौपाने, रोमन न्यौपाने र रुनी तामाङले गोल गरे। यलम्बरका रोमन न्यौपाने ‘म्यान अफ द म्याच’ घोषणा गरियो।