काठमाडौं। ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्डले यो सिजनको अन्त्यपछि इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल छाड्ने छन्।
२० वर्षदेखि क्लबमा रहेका आर्नोल्डले अब नयाँ अध्याय सुरु गर्न लागेका हुन्। २६ वर्षीय इङ्ल्यान्डका राइट ब्याक आर्नोल्डले आफ्नो सामाजिक सञ्जालमार्फत भावुक सन्देश दिँदै क्लबबाट बिदा हुने पुष्टि गरेका हुन्।
यद्यपि, उनले नयाँ गन्तव्यबारे केही उल्लेख गरेका छैनन्। तर, उनी स्पेनिस क्लब रियल मड्रिडमा जाने सम्भावना छ।
‘यो मेरो जीवनको सबैभन्दा गाह्रो निर्णय हो,’ उनले लेखेका छन्,‘यो क्लब मेरो जीवन, मेरो संसार नै बनिसकेको थियो। एकेडेमीबाट लिएर आजसम्म मैले यहाँ जुन माया र समर्थन पाएको छु, त्यो म कहिल्यै भुल्न सक्दिनँ। म सधैं सबैप्रति ऋणी रहनेछु।’
उनले थपे, ‘तर, अब म केही नयाँ अनुभव गर्न चाहन्छु। आफूलाई सजिलो क्षेत्रबाट बाहिर निकालेर व्यक्तिगत र व्यावसायिक रूपमै चुनौती दिन चाहन्छु।’ आर्नोल्डले लिभरपुलका लागि सबै प्रमुख उपाधि जितिसकेका छन्। सन् २०१९ को च्याम्पियन्स लिग, सन् २०२० र २०२५ को प्रिमियर लिग उनले उचालेका थिए। उनले लिभरपुलको खेलशैलीमा राइट ब्याकको भूमिकामै नयाँ परिभाषा दिएका थिए।
मोहमद सलाह र भर्जिल भान डाइकले हालै दुई वर्षको नयाँ सम्झौता गरेका बेला आर्नोल्डको भविष्य भने अनिश्चित रहेको थियो। उनको लिभरपुलसँगको अनुबन्ध यस सिजनपछि सकिँदैछ।
‘धेरैले म किन केही बोलेको छैन भनेर आश्चर्य मान्नुभएको छ होला,’ उनले लेखेका छन्, ‘तर मेरो ध्यान सधैं क्लबलाई २०औं लिग उपाधि जिताउने लक्ष्यमा केन्द्रित थियो।’
यदि उनी रियल जान्छन् भने त्यो फ्री ट्रान्सफर हुनेछ। उनी स्टीभ म्याकम्यानामान, माइकल ओवेन र जाबी आलोन्सोको पाइला पछ्याउँदै एनफिल्डबाट सान्टियागो बर्नाबेउ पुग्नेछन्। त्यहाँ उनी इङ्ल्यान्ड राष्ट्रिय टोलीका मिडफिल्डर जुड बेलिङघमसँगै खेल्नेछन्।
‘मैले यहाँ बिताएका २० वर्ष अविस्मरणीय छन्। यो क्लबप्रति मेरो माया कहिल्यै मर्दैन,’ उनले अन्त्यमा लेखेका छन्।