काठमाडौं। पिसा ३४ वर्षपछि इटालीको शीर्ष डिभिजन फुटबलमा फर्किएको छ। आइतबार बारीविरुद्धको खेलमा पिसाले १–० ले हार बेहोरेको थियो।
तर, तेस्रो स्थानमा रहेको स्पेजिया पनि रेजियानासँग २–१ ले पराजित भएपछि पिसाले सिरी ‘बी’ को दोस्रो स्थान सुरक्षित गर्दै स्वत: सिरी ‘ए’ मा उक्लिएको हो। लिगमा दुई खेल बाँकी रहेका बेला पिसाको प्रमोसन सुनिश्चित भएको छ।
यो सँगै सन् १९९१ मा रेलिगेट भएयता पहिलोपटक पिसाको घरेलु मैदान एरेना गरिबाल्डीमा फेरि सिरी ‘ए’ फुटबल फर्किनेछ। यो रंगशाला प्रख्यात ‘लिनिङ टावर अफ पिसा’को छेवैमा अवस्थित छ।
पिसाका प्रशिक्षक हुन् विश्वकप विजेता फरवार्ड फिलिपो इनजागी। उनी इन्टर मिलानका प्रशिक्षक सिमोने इनजागीका जेठा दाजु हुन्।
सिरी ‘बी’ च्याम्पियन सासुओलोले गत महिना नै शीर्ष डिभिजनमा स्थान बनाइसकेको छ। अब तेस्रोदेखि आठौं स्थानसम्म रहने टोलीले ‘प्लेअफ’ खेल्दै बाँकी एक स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।