काठमाडौं। बायर्न म्युनिखले आइतबार कुनै खेल नखेली नै बुन्डेसलिगा उपाधि जितेको छ। यो जितले क्लबलाई २०१२ यताकै पहिलो उपाधिविहीन सिजनबाट पुनरागमन गर्ने अवसर बनाइदिएको छ।
बायर लेभरकुजेनले फ्राइबर्गसँग २–२ को बराबरी खेलेपछि बायर्न दुई खेल अगाबै च्याम्पियन बनेको हो। बायर्नसँग अहिले नै आठ अंकको अग्रता छ, जुन लेभरकुजेनले भेटाउने सम्भव छैन।
यो बायर्नको कीर्तिमानी ३४औं जर्मन लिग उपाधि हो। सन् १९३२ मा क्षेत्रीय विजेता टोलीहरूबीचको नकआउट प्रतियोगिताबाट आएको पहिलो उपाधिबाहेक बाँकी सबै उपाधि बुन्डेसलिगा स्थापना (१९६३) पछि जितिएको हो।
लेभरकुसेनले गत सिजन बायर्नको ११ वर्ष लामो एकछत्र राज अन्त्य गरे पनि यसपटक नयाँ प्रशिक्षक भिन्सेन्ट कोम्पनी, इङ्ल्यान्डका स्टार ह्यारी केन र लेभरकुजेनको खराब लयको फाइदा उठाउँदै पुनः उपाधिमा कब्जा गरेको हो।
यो सिजन बायर्नले रोबर्ट लेवान्डोस्की युगको पूर्ण अन्त्य गर्यो। केनको आगमनसँगै बायर्न उनीमाथि निर्भर भएको देखिन्छ। लेवान्डोस्कीका पूराना सहयात्री सर्ज ग्नाब्री र किङ्स्ले कोमान पहिले जस्तो चम्किएका छैनन्।
३५ वर्षीय थोमस मुलर पनि बेन्चमा सीमित छन्। जमाल मुसियालाले चोटबीच पनि १२ गोल गर्दै आक्रमणमा बलियो प्रभाव पारेका छन्। माइकल ओलिसेले क्रिस्टल प्यालेसबाट आएका पहिलो सिजनमै १० गोल र १७ असिस्ट दिँदै मुख्य खेलाडीको रूपमा उभिएका छन्। ह्यारी केनले मात्र बुन्डेसलिगामा २४ गोल गरेका छन्।