काठमाडौं। म्यानचेस्टर युनाइटेडले आइतबार प्रिमियर लिगको यो सिजनमा क्लबकै कीर्तिमानी १६औं हार बेहोर्दै लज्जास्पद प्रदर्शनलाई निरन्तरता दियो।
उता, च्याम्पियन्स लिगमा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेको न्युक्यासलले ब्राइटनसँग १–१ को बराबरी गर्न अन्तिम समयको पेनाल्टीको सहारा लिनुपर्यो।
ब्रेन्टफोर्डसँग युनाइटेड ४–३ ले पराजित भयो। मुख्य प्रशिक्षक रुबेन अमोरिमले प्रिमियर लिगको इतिहासमै युनाइटेडको सबैभन्दा कम उमेरको टोली मैदानमा उतारेका थिए।
युरोपा लिग सेमिफाइनलमा एथ्लेटिक बिल्बाओ खेल्न उनले यो निर्णय लिएका हुन्। प्रिमियर लिगको अंक तालिकामा १५औं स्थानमा रहेको युनाइटेडले ३९ अंक मात्रै जोडेको छ। यो क्लब इतिहासकै सबैभन्दा खराब लिग अंक र स्थान हो। यो तथ्यसँगै युनाइटेडले सिजन सक्काउने निश्चित भइसकेको छ।
अमोरिमको मुख्य चिन्ता अब बिहीबार ओल्ड ट्राफोर्डमा हुने एथ्लेटिक बिल्बाओविरुद्धको दोस्रो लेग हो। युनाइटेडले पहिलो लेगमा ३–० को सानदार अग्रता बनाएको छ।
खेलमा युनाइटेडका लागि एक सकारात्मक पक्ष भनेको लामो समयपछि मैदान फर्किएका विंगर आमाद डियालोको पुनरागमन हो। उनले इन्जुरी समयको अन्त्यतिर तेस्रो गोल गर्दै टोलीलाई ४–१ बाट फर्काएर ४–३ पुर्याएका थिए। यद्यपि, बराबरीको लागि समय पर्याप्त भएन।
ब्राइटनका लागि पहिलो हाफमा न्युक्यासलका पूर्व खेलाडी यानकुबा मिन्टेहले गोल गर्दै सानदार सुरुआत दिलाएका थिए। तर, अन्तिम समयमा एलेक्ज्यान्डर इसाकले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए।
न्युक्यासल जितेको भए तेस्रो स्थानमा उक्लन सक्थ्यो। तर, अब उल्टै चेल्सी, नटिंघम फरेस्ट र एस्टन भिल्लाले उसलाई भेटाउने सम्भावना बढेको छ। अहिले न्युक्यासल चौंथो स्थानमा छ र ती तीन क्लबभन्दा तीन अंकले मात्र अगाडि छ।
चेल्सीले आइतबार साँझ पहिले नै उपाधि जितिसकेको लिभरपुललाई घरेलु मैदानमा सामना गर्दैछ भने फरेस्टले सोमबार क्रिस्टल प्यालेसको मैदानमा खेल्नेछ।
त्यस्तै, आइतबारकै अर्को खेलमा वेस्ट ह्याम र टोटनह्यामबीचको खेल १–१ को बराबरीमा सकियो। टोटनह्याम युरोपा लिग सेमिफाइनलमा पनि छ। उसले गत बिहीबार नर्वेजियन क्लब बोदो/ग्लिम्टलाई पहिलो लेगमा ३–१ ले हराएको थियो।