काठमाडौं। राफिन्हा र फेर्मिन लोपेजको गोलले बार्सिलोनालाई रेलिगेट भइसकेको भालाडोलिडविरुद्ध हारबाट जोगाउँदै ला लिगा उपाधितर्फको यात्रालाई कायम राख्न सहयोग पुर्याएको छ।
शनिबारको २–१ जितसँगै अब बार्सिलोना च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग खेल्न इन्टर मिलान जाने तयारीमा छ। खेलको छैटौं मिनेटमा बार्सिलोनाले गोल बेहोरेको थियो। तर, राफिन्हाले ५४औं मिनेटमा गोल गर्दै खेल बराबरी ल्याए। त्यसपछि लोपेजले ६०औं मिनेटमा निर्णायक गोल गर्दै जित सुनिश्चित गरे।
खेलको सुरुमा बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले मुख्य खेलाडीहरूलाई विश्राम दिँदै टोलीमा व्यापक फेरबदल गरेका थिए। ‘तीन अंक जित्नु सुखद हो। अझ सुखद कुरा के भने केही खेलाडीले इन्टरविरुद्धको महत्त्वपूर्ण खेलअघि कम समय खेले,’ प्रशिक्षक फ्लिकले भने।
भालाडोलिडले छैटौं मिनेटमा अग्रता लिएको थियो। इभान सान्चेजको प्रहार डिफेन्डर रोनाल्ड अराउजोलाई लागेर पोस्टमा गयो। त्यसपछि चोटका कारण डेब्यु गरेका बार्सिलोनाका ड्यानिएल रोड्रिगेजले आधा घन्टामै मैदान छोड्नुपर्यो।
दोस्रो हाफ सुरु हुँदा राफिन्हा मैदान पसे र उनले गोलकिपरले पन्च गरेको बल पर्खेर गोल गरे। त्यसपछि लोपेजले ६०औं मिनेटमा सुन्दर प्रहार गर्दै खेल बार्सिलोनाको पक्षमा पारिदिए।
१७ वर्षे लमिन यामलले पनि उत्कृष्ट प्रदर्शन गरे। उनको प्रहार भालाडोलिडका क्यान्डेलाले गोल लाइनबाट बचाएका थिए। सेप्टेम्बरपछि पहिलोपटक मैदान फर्किएका गोलकिपर मर्क–आन्द्रे तेर स्टेगनले भने, ‘मैदानमा फर्कन पाउँदा निकै खुसी छु। जितसाथ फर्कनु अझ विशेष भयो।’
हाल सिटीको ला लिगा अंक तालिकामा बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडमाथि सात अंकको अग्रता बनाएको छ। शीर्ष स्थानको बार्सिलोनाको ३४ खेलबाट ७९ अंक छ। एक खेल कम खेलेको रियलको भने ७२ अंक छ। रियलले आइतबार सेल्टा भिगाविरुद्ध खेल्नेछ।