काठमाडौं। दबावमा रहेका टोटनह्यामका प्रशिक्षक एन्जे पोस्टेकोग्लुले आफूले दोस्रो सिजनमा सधैं उपाधि जित्ने दाबीलाई अझै पूरा गर्न सक्ने संकेत देखाएका छन्।
ब्रिस्बेन रोअर, योकोहामा एफ मारीनोस र सेल्टिकमा उनले यही रेकर्ड बनाएका थिए। यद्यपि, यस सिजन टोटनह्यामले प्रिमियर लिगमा १९ हार बेहोरेसँगै त्यो रेकर्ड संकटमा परेको देखिन्थ्यो।
तर, टोटनह्याम हट्स्पर स्टेडियममा नर्वेजियन क्लब बोडो/ग्लिम्टमाथिको ३–१ को जितले पुनः आशा जगाएको छ, पोस्टेकोग्लुले यसपटक पनि सफलताको स्वाद चाख्न सक्छन्।
खेलको सुरुआतमै ब्रेनन जोनसनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए। ३४औं मिनेटमा जेम्स म्याडिसनले त्यो अग्रतालाई दोब्बर बनाए। ६१औं मिनेटमा डोमिनिक सोलांकेले पेनाल्टीमार्फत अग्रता ३–० बनाए। तर, ८३औं मिनेटमा उलरिक साल्टनेसले एक गोल फर्काउँदै बोडो/ग्लिम्टलाई अर्को साता नर्वेमा हुने दोस्रो लेगको लागि केही आशा बाँकी राखिदिए।
खेलपछि प्रशिक्षक पोस्टेकोग्लुले भने,‘स्कोरलाइनले हाम्रो पूर्ण दबाब झल्काउँदैन होला। तर, पहिलो लेगपछि मुख्य कुरा हो अग्रता बनाउनु। र, हामीले त्यो स्थितिमा आफूलाई पुर्याएका छौं।’