काठमाडौं। म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनल पहिलो लेगमा जित निकाल्न सफल रह्यो।
यो टोलीले घरेलु सिजनमा खराब प्रदर्शन कायम राखेको छ। तर, एक ठूलो उपाधि जित्ने र च्याम्पियन्स लिगमा स्थान बनाउने आशा भने जीवितै देखिएको छ।
बिहीबार राति भएको खेलमा युनाइटेडले स्पेनको सान मामेस रंगशालामा एथ्लेटिक बिल्बाओलाई ३–० ले हरायो। युनाइटेडले घरेलु प्रतियोगितामा निराशाजनक प्रदर्शन गरेको छ। प्रिमियर लिगको अंक तालिकामा १४औं स्थानमा छ। तर, दोस्रो तहको युरोपियन प्रतियोगिता युरोपा लिगमार्फत सिजन बचाउने अवसर युनाइटेडसँग अझै बाँकी छ।
युनाइटेडले यस सिजनकै सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो लेगमा बलियो अग्रता बनाएको छ। रुबेन आमोरिमको टिमलाई ३०औं मिनेटमा केसमीरोले ह्यारी मग्वायरको क्रसमा हेडरमार्फत अग्रता दिलाए।
सात मिनेटपछि रासमुस होइलुनलाई बक्स भित्र ड्यानी भिभिएनले फउल गरेपछि भिडियो रिभ्युबाट पेनाल्टी दिइयो र भिभिएनले रातो कार्ड पाए। कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए।
४५औं मिनेटमा फर्नान्डेजले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे। उनले डिफेन्स चिर्दै गोलकिपर जुलियन अगिर्रेजाबालालाई छलेर सुन्दर गोल गरे। फर्नान्डेजले यस सिजन १९ गोल र १६ असिस्ट गरेका छन्। प्रिमियर लिगमा लिभरपुलका मोहम्मद सालाहबाहेक उनी सबैभन्दा बढी योगदान दिने खेलाडी हुन्।
‘म सधैं गोल गर्न चाहन्छु, असिस्ट दिन चाहन्छु। यो मेरो गुण हो। म यस्तै गर्दै जान्छु,’ फर्नान्डेजले भने।
युनाइटेडको जित अझै ठूलो हुन सक्थ्यो। तर, नोसैर माजराउई र केसमीरोको प्रहार पोस्टमा लागेको थियो। दोस्रो लेग अर्को बिहीबार ओल्ड ट्राफोर्डमा हुनेछ, जहाँ जिते युनाइटेड फाइनल स्थान बिल्बाओमै पुग्नेछ।
तरऽ आमोरिमले दोस्रो लेगमा ढुक्क हुन नहुने बताए। “उनीहरू (बिल्बाओ) पनि ओल्ड ट्राफोर्डमा उस्तै गर्न सक्छन्। उनीहरू निकै तीव्र र बलिया छन्,’ उनले भने।