काठमाडौं। चेल्सी युइएफए कन्फरेन्स लिगको फाइनलतिर बढेको छ। सेमिफाइनलको पहिलो लेगमा बिहीबार स्विडिस क्लब डिजुर्गार्डेनलाई ४–१ ले पराजित गर्दै चेल्सीले सानदार जित निकालेको हो।
चेल्सीका निकोलस ज्याक्सनले दोस्रो हाफमा ६ मिनेटको अन्तरालमा दुई गोल गरे। जाडोन सान्चो र नोनी माडुएकेले समान एक गोल थपे। अब दोस्रो लेग आगामी बिहीबार स्ट्यामफोर्ड ब्रिजमा हुनेछ।
‘हामी जितेकोमा धेरै खुसी छौं। अहिले एक कदम अघि बढेका छौं र हामी फाइनल पुग्नेमा आशावादी छौं,’ खेलपछि ज्याक्सनले भने। युरोपियन सेमिफाइनलमा पहिलो पटक पुगेको डिजुर्गार्डेनविरुद्ध चेल्सी प्रबल दावेदार मानिएको थियो। स्टकहोम एरिनाको कृत्रिम मैदानमा खेल भए पनि चेल्सीले आफ्नो क्षमता देखायो।
१३औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा जाडोन सान्चोले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए। पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा माडुएकेले दोस्रो गोल थपे, फेरि पनि फर्नान्डेजको असिस्टमा।
दोस्रो हाफको ५९औं मिनेटमा विपक्षी डिफेन्सको गल्तीको फाइदा उठाउँदै ज्याक्सनले सजिलै गोल गरे। त्यसपछि उनले डि एरियाको छेउबाट गोल गर्दै अग्रता ४–० बनाए।
डिजुर्गार्डेनका इसाक अलेमायाहुले घरेलु टोलीका लागि सान्त्वना गोल गरे।