काठमाडौं। ब्रायन ह्वाइट र पेड्रो भिटेले दुई मिनेटको अन्तरालमा गोल गर्दै भ्यानकुभर ह्वाइटक्याप्सलाई कन्काकाफ च्याम्पियन्स कप सेमिफाइनलको दोस्रो लेगमा इन्टर मियामीविरुद्ध ३–१ को जित दिलाए।
यो नतिजासँगै लिओनल मेसीको टोलीको फाइनल पुग्ने आशा समाप्त भएको छ। सेबास्टियन बर्हाल्टरले पनि भ्यानकुभरका लागि गोल गरे। दुई लेगको समग्र स्कोर ५–१ हुँदा भ्यानकुभर अब जुन १ मा क्रुज अझुल वा टिग्रेस युएएनएएलसँग उपाधि भिडन्तमा खेल्नेछ।
गत बिहीबार पहिलो लेगमा इन्टर मियामी २–० ले पराजित भएको थियो। मियामीलाई दोस्रो लेगमा कम्तीमा तीन गोलको अन्तरले जित्नुपर्ने अवस्था थियो। तर, त्यसको सम्भावना दोस्रो हाफको सुरुमै सकियो।
खेलको नवौं मिनेटमा लुइस सुआरेजको पासमा जोर्डी आल्बाले मियामीका लागि यस सिजनको पहिलो गोल गर्दै अग्रता दिलाए। तर, त्यसपछि मियामीले प्राप्त अवसरको सदुपयोग गर्न सकेनन्।
भ्यानकुभरले दोस्रो हाफको ५१औं मिनेटमा बर्हाल्टरको पासमा ब्रायन ह्वाइटमार्फत बराबरी गोल गर्यो। त्यसको दुई मिनेटपछि पेड्रो भिटेको डिफ्लेक्टेड प्रहार गोलरक्षक ओस्कार उस्टारीलाई छलाएर जालीमा पुग्यो।
७१औं मिनेटमा बर्हाल्टरले बक्सको बीचबाट प्रहार गर्दै खेललाई ३–१ को अवस्थामा पुर्याए। उनले पहिलो लेगमा पनि एक गोल गरेका थिए र समग्र सेमिफाइनलमा ह्वाइटक्याप्सका पाँचै गोलमा उनी प्रत्यक्ष संलग्न रहे।
तर, बर्हाल्टर उपाधि भिडन्तमा भने खेल्न पाउने छैनन्। पहिलो हाफमा मियामीका तादेओ एलेन्देमाथि फाउल गरेपछि पहेंलो कार्ड पाए। पहिलो लेगमा पनि उनले यही गल्ती गरेका थिए।
यो पराजयसँगै मियामी मेसी युगमा पहिलो पटक लगातार तीन खेल हार्ने अवस्थाबाट गुज्रेको छ। साथै, मेसीले पनि लगातार चौथो खेलमा गोल गर्न सकेनन्।