काठमाडौं। साउदी अरबमा ठूलो उपाधि जित्ने क्रिस्टियानो रोनाल्डोको पर्खाइ अझै लम्बिने भएको छ।
एएफसी च्याम्पियन्स लिगको बुधबार सम्पन्न सेमिफाइनलमा उनको क्लब अल-नासर जापानी क्लब कावासाकी फ्रन्टालेसँग ३–२ ले पराजित भयो।
४० वर्षीय रोनाल्डो सन् २०२२ को डिसेम्बरमा रियादस्थित अल-नासरमा आबद्ध भएका थिए। उनले गोल गर्ने केही अवसर पाएका थिए। तर, असफल रहे।
अब कावासाकीले शनिबार हुने फाइनलमा अर्को साउदी क्लब अल-अहलीको सामना गर्नेछ। दुबै क्लब आफ्नो पहिलो महादेशीय उपाधिको खोजीमा छन्।
खेलको १०औं मिनेटमा टात्सुया इटोको उत्कृष्ट भली गोलमार्फत कावासाकीले अग्रता लिएको थियो। तर, २९औं मिनेटतिर अल–नासरलाई लिभरपुलका पूर्वस्टार साडियो मानेले बराबरीमा फर्काए।
त्यसपछि रोनाल्डोको हेडर प्रहार बारमा लागेर फर्किएको थियो। तर, पहिलो हाफभन्दा तीन मिनेटअघि युटो ओजेकीको गोलले कावासाकीलाई पुनः अग्रता दिलायो।
अल–नसारले दोस्रो हाफमा लगातार आक्रमण गरिरहे पनि ७६औं मिनेटमा अकिहिरो इएनागाले नजिकैबाट गोल गर्दै कावासाकीको अग्रता ३–१ बनाए। ८७औं मिनेटमा आयमान याह्याले एक गोल फर्काउँदै अल–नासरलाई ३–२ मा ल्याए। अन्तिम क्षणमा रोनाल्डो र जोन डुरानले प्रयास गरे तापनि बराबरी गोल गर्न सकेनन्।
गत साता भएको क्वार्टरफाइनलमा रोनाल्डोले अल–नासरलाई योकोहामामाथि सहज जित दिलाउँदा गोल गरेका थिए। अर्को सेमिफाइनलमा दुई पटकको फाइनलिस्ट अल–अहलीले मंगलबार अर्को साउदी क्लब अल–हिलाललाई ३–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको छ।