काठमाडौं। लामिन यमलको पोस्ट लागेर गोल भएको कर्लिङ प्रहार, मार्कुस थुरामको गज्जबको ब्याक–हिल फ्लिक, राफिन्हाको बार र गोलकिपर लागेर जाली चुमेको शक्तिशाली प्रहार अनि डेन्जेल डुम्फ्रिजको ‘बाइसाइकल किक’ पनि नबिर्सिनुहोस्। त्यसपछि उनले हेडरमार्फत दोस्रो गोल थपे।
बार्सिलोना र इन्टर मिलानबीच भएको च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेग ३–३ को रोमाञ्चक बराबरीमा टुंगियो। यो खेलमा प्रशंसा गर्नलायक थुप्रै गोलहरू देखिए, जसले अर्को हप्ता मिलानमा हुने दोस्रो लेगलाई झनै रोमाञ्चक बनाएको छ।
यो च्याम्पियन्स लिग सेमिफाइनलको इतिहासमा बराबरीमा टुंगिएको सबैभन्दा बढी गोल भएको खेल हो। सन् १९९९ मा बायर्न म्युनिख र डायनामो किभबीच भएको खेल पनि यसरी नै बराबरीमा टुंगिएको थियो।
यस खेललाई गोलको वर्षा गर्ने बार्सिलोना र बलियो रक्षात्मक इन्टरबीचको भिडन्त भनेर हेरिएको थियो। तर, अन्ततः यो ‘सुटआउट’ खेलमा परिणत भयो।
इन्टरले दुई उत्कृष्ट कर्नर गोलसहित बार्सिलोनालाई चुनौती दियो। बार्सिलोनाका लागि १७ वर्षीय यमल १००औं खेलमा पुनः चम्कनुपर्यो। खेलको सुरुआतमै डुम्फ्रिजको क्रसमा थुरामले ब्याक–हिलमार्फत गोल गर्दै बार्सिलोनालाई स्तब्ध बनाएका थिए। २१औं मिनेटमा कर्नरबाट आएको बललाई ‘बाइसाइकल किक’मार्फत डुम्फ्रिजले इन्टरको अग्रता दोब्बर बनाए।
२४औं मिनेटमा यमलले दुई डिफेन्डरलाई ‘ड्रिबल’ गर्दै पोस्ट लागेर गोल गरेपछि बार्सिलोनाले खेलमा फर्कने संकेत दियो। केही मिनेटमै उनले अर्को प्रयासमा बार बाधक बन्यो।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले यमलको प्रशंसा गर्दै भने,‘ठूला खेलमा चम्कन्छन् भन्ने उनले फेरि देखाए। २–० पछि मैले थाहा पाएँ कि यो दुई ठूला क्लबबीचको सेमिफाइनल हो। यमलले हामीलाई बाटो देखाए।’ राफिन्हाको हेडर पासमा फर्रान टोरेसले बराबरी गोल गरे।
दोस्रो हाफमा इन्टरका लाउटारो मार्टिनेज घाइते भएर मैदान छाड्नुपरेको थियो। तर, ६३औं मिनेटमा डुम्फ्रिजले हेडरमार्फत दोस्रो गोल गर्दै इन्टरलाई पुनः अग्रता दिलाए। तर, त्यसको दुई मिनेटमै राफिन्हाको शक्तिशाली प्रहार बार लागेर गोलकिपरको पिठ्युँबाट फर्केर गोल भयो र बार्सिलोनाले खेल ३–३ मा ल्यायो।
‘घरमा खेलेकोले जित्नुपर्ने दबाब थियो। तर, यो नतिजा नराम्रो भने होइन। दोस्रो लेगमा जित निकाल्ने तयारी गर्छौं,’ राफिन्हाले भने। बार्सिलोना सन् २०१५ पछि पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा छ भने प्रशिक्षक फ्लिकको पहिलो सिजनमै पुनः ‘ट्रेबल’ जित्ने योजनामा छ।
इन्टर सन् २०२३ मा म्यानचेस्टर सिटीसँगको फाइनल हारपछि पुनः फाइनल पुग्ने लक्ष्यमा छ। यो दुई टोलीले अन्तिमपटक सेमिफाइनलमा भिड्दा सन् २०१० मा इन्टरले बार्सिलोनालाई हराएर उपाधि जितेको थियो।
यो खेलको विजेताले मे ३१ मा म्युनिखमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) वा आर्सनलमध्ये एकसँग फाइनल खेल्नेछ। पहिलो लेगमा पिएसजीले आर्सनललाई लन्डनमा १–० ले हराएको छ।