काठमाडौं। राफिन्हाको दुई गोलमा बार्सिलोनाले ला लिगामा शनिबार नाटकीय जित हात पारेको छ।
इन्जुरी समयमा उनले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई दुई गोलले पछि परेको अवस्थाबाट फर्काउँदै सेल्टा भिगोविरुद्ध ४–३ को जित दिलाएका हुन्। यो रोमाञ्चक जितसँगै बार्सिलोनाले लिगको उपाधि होडमा आफ्नो दबदबा कायम राखेको छ।
बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा सात अंकले अघि पुगेको छ। रियलले आइतबार एथ्लेटिक बिल्बाओको सामना गर्दैछ।
सेल्टा भिगोका बोर्जा इग्लेसियसले ह्याट्रिक गर्दै टोलीलाई ३–१ को अग्रता दिलाएका थिए। खेलमा ३० मिनेट बाँकी रहँदा उनले आफ्नो तेस्रो गोल पूरा गरेका हुन्। तर त्यसपछि बार्सिलोनाले जबरजस्त पुनरागमन गर्यो।
६२औं मिनेटमा डानी ओल्मोले गोल गर्दै खेल ३–२ मा ल्याए। त्यसको तीन मिनेटपछि लामिन यमलको क्रसमा राफिन्हाले हेडरमार्फत बराबरी गोल गरे।
खेल बराबरीमै सकिन लागेको बेला स्टपेज टाइममा ओल्मोमाथि फउल भएको थियो। भिडियो समीक्षा (भिएआर) पछि बार्सिलोनालाई पेनाल्टी दिइयो। राफिन्हाले पेनाल्टीबाट गोल गर्दै टोलीलाई ४–३ को नाटकीय जित दिलाए।
खेलको अन्तिम सिटी बज्नासाथ प्रशिक्षक हान्सी फ्लिक मैदानमा दौडिँदै आएर राफिन्हालाई अँगालो हाल्दै खुसी व्यक्त गरे।