काठमाडौं। रोमाञ्चक खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा तेस्रो जित हात पारेको छ।
बिहीबार सम्पन्न खेलमा कर्णालीले पाँच रनको जित हात पारेको हो। यो नतिजासँगै कर्णालीले ६ खेलबाट ६ अंक पुर्याएको छ। तेस्रो स्थानमा रहेको लुम्बिनीको भने सात खेलबाट आठ अंक छ।
कर्णालीले दिएको २०६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले दुई बल बाँकी रहँदा सबै विकेट गुमाउँदै २०० रन मात्रै बनाउन सक्यो।
लुम्बिनीका प्रज्वल थापाले सर्वाधिक ८४ रन बनाए। १०७ बल खेलेका उनले ६ चौका प्रहार गरे। कप्तान देव खनाल ४०, आकाश त्रिपाठी २१ र मनिष थापा १६ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
कर्णालीका दीपेन्द्र रावत र दीनेश अधिकारीले सर्वाधिक तीन विकेट लिए। प्रकाश जैशीको दुई विकेट लिँदा दीवश पुन र सुनील धमलाको नाममा समान एक विकेट रह्यो।
त्यसअघि भैरहवास्थित सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २०५ रन बनाएको थियो।
कर्णालीका दीपेन्द्रले सर्वाधिक ६६ रन बनाए। ८४ बल खेलेका उनले नौ चौका प्रहार गरे। अर्जुन घर्तीले ५६ र सुनीले १९ रन बनाउँदा अन्यको ब्याट चल्न सकेन।
लुम्बिनीका रमेश कुर्मीले सर्वाधिक तीन विकेट लिए। १० ओभर बलिङ गरेका उनले चार मेडनसहित ३७ रन खर्चिए। विप्रसन केसी, अजय चौहान र निर्मल गुरुङले समान दुई विकेट लिँदा देवको नाममा एक विकेट रह्यो।