बिग्रेट ब्वाइजलाई हराउँदै पुलिस सेमिफाइनलमा
२०२५ फेब्रुअरी ८, शनिबारखेलपाटी संवाददाता

काठमाडौं। बिग्रेट ब्वाइज क्लब युकेलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
कास्कीको पोखरा रंगशालामा शनिबार सम्पन्न क्वार्टरफाइनलमा पुलिसले बिग्रेट ब्वाइजलाई २-० ले पन्छ्याएको हो। योसँगै पुलिसले फाइनल प्रवेश गर्न चर्च ब्वाइज र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ।
पुलिसलाई जित दिलाउन विवेक पाण्डे र रामचन्द्र वाजीले पहिलो हाफमा गरेको गोल नै पर्याप्त रह्यो।
पुलिसले खेलको २८औं मिनेटमा विवेकको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। उनले कर्नरबाट प्रहार गरेको बल सेकेन्ड बारमा लाग्दै सिधै गोलमा परिणत भएको हो।
त्यसको १२ मिनेटपछि नै कप्तान रामचन्द्रले पुलिसको अग्रता दोब्बर बनाए। उनले विवेकको कर्नरमा हेडर गोल गरेका हुन्। म्यान अफ द म्याच पनि रामचन्द्र नै घोषित भए।