काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बाको वायोपिक ‘अन्जिला’ फागुन २९ गतेबाट प्रदर्शनमा आउँदैछ।
यो फिल्मबाट उठेको पैसाले अन्जिलाको घर बनाइदिने निर्देशक मिलन चाम्सले बताएका छन्।
‘हाम्रो प्रोड्युसरको लक्ष्य भनेको प्रोजेक्ट अन्जिला घर हो, अन्जिलाको घर बनाइदिने र यसमा दयाहाङ (राई) को विशेष साथ छ,’ निर्देशक चाम्सले भने, ‘फिल्मले व्यापार राम्रो गरोस्, नराम्रो गरोस्, जस्तोसुकै गरोस् तर पनि हामी कुनै पनि हालतमा अन्जिलाको घर बनाउँछौं भन्ने छ। प्रोड्युसरले योजना सुनाउनुभएको छ, राम्रो छ। दर्शकको साथ चाहिँ चाहिन्छ। घर बन्यो भने अन्जिलाको फुटबल एकेडेमी पनि बनाउनेछौं। अन्जिलाको घर बनाउने जतिको महान् कार्य अर्को हुँदैन।’
वीर विक्रम, गोर्खा वारियर, लिली बिलीलगायत झन्डै दर्जन फिल्म निर्देशक गरिसकेका चाम्सले अन्जिलाको घर काठमाडौं उपत्यकामै बनाउने पनि बताए। अहिले ग्रिसको शीर्ष डिभिजन क्लब नीस अत्रोमितोउमा खेल्ने तयारीमा व्यस्त रहेकी अन्जिला इलामकी हुन्। उनी अर्को महिना फोर नेसन्स कप खेल्न स्वदेश फर्किनेछिन्।
फिल्म कसरी बन्यो ? निर्देशक चाम्सले भने, ‘प्रेमकुमार श्रेष्ठ (निर्माता) को आइडिया सुनेपछि मन पर्यो। अन्जिलासँग धेरै चोटि कुरा भयो। रिसर्च गर्ने काम भयो। अनि अन्जिलाको संघर्षको सफलताले एकदमै मन छोयो। फिल्म पनि त्यस्तै बनेको छ। त्यस हिसाबले समाजमा राम्रो खालको सन्देश जाओस्, हाम्रो खेल क्षेत्रलाई पनि प्रवर्द्धन गरौं भन्ने हेतुले अन्जिलालाई प्रतिनिधि पात्रको रूपमा लिएर फिल्म निर्माण गरौं। सरकारले थाहा पाउँछ, आम मान्छेले पनि थाह पाउँछ भनेर बनाइयो।’
सशस्त्र प्रहरी बल (एपिएफ) मा आबद्ध अन्जिलाको खेल र जीवनको वास्तविक पाटोलाई समेटिएको वायोपिकको ‘प्रिमियर शो’ हङकङमा भइसकेको छ भने बेलायतमा फेब्रुअरी १४ मा हुँदैछ। प्रेमकुमार श्रेष्ठद्वारा निर्मित यो फिल्म नेपालमा फागुन २९ गतेदेखि प्रदर्शन गरिनेछ।
हेर्नुस् भिडियोमा