सदस्यसचिव घिसिङविरुद्ध अवहेलनाको मुद्दा खारेज

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा दायर गरिएको अवहेलनाको मुद्दा खारेज गरिदिएको छ।
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दले गत जेठ २७ गते सदस्यसचिव घिसिङविरुद्ध दायर गरेको मुद्दामाथि बुधबार न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले फैसला गर्दै ‘दाबी नपुग्ने’ भनी खारिज गरेको हो।
नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघलाई विघटन गरी तदर्थ कमिटी बनाएपछि चन्दले सदस्यसचिवविरुद्ध अवहेलनाको रिट दायर गरेका थिए। चन्द नेपाली कांग्रेसको कोटामा राखेप बोर्ड सदस्य नियुक्त भएका छन्।
त्यस्तै, नेपाल तेक्वान्दो संघले युवा तथा खेलकुद मन्त्रालयसमेत पाँचलाई विपक्षी बनाएर दायर गरेको उत्प्रेषणसम्बन्धी मुद्दामा भने रिट जारी गरेको छ। संघले उक्त मुद्दा गत जेठ १८ गते दर्ता गरेको थियो।