काठमाडौं। नेपाल जुनियर इन्टरनेसनल सिरिजमा भारतको दबदबा रह्यो। भारतीय खेलाडीहरूको दबदबा रहेको प्रतियोगिताको पाँचवटै विधाको फाइनलमा भारतीय खेलाडीहरूको मात्र प्रतिस्पर्धा रहेको थियो।
शनिबार सम्पन्न सेमिफाइनल खेलको पुरुष एकलतर्फ भारतका अंश नेगीले भारतकै साइप्रसाद तिगलालाई २४–२२, २९–२७ ले पराजित गर्दै फाइनल यात्रा तय गरे। अब नेगीले भारतका सुर्यक्ष रावतसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। रावतले बिश्वजित चौधरीलाई २४–२२, २१–१२ ले पराजित गरे।
महिला एकलतर्फ पारु चौधरीले इशिता नेगीलाई २१–१८, २१–१३ ले पराजित गर्दै फाइनल प्रवेश गरिन्। पारुले उपाधिका लागि मेधावी नागरसँग प्रतिस्पर्धा गर्नेछिन्। नागरले दिया भिमैयालाई २१–१२, २१–१८ ले पराजित गर्दै फाइनल यात्रा तय गरेकी हुन्।
मिक्स युगलतर्फ गर्व सानी र इशिता नेगीको जोडीले सौरभ साहु र प्रगति परिदाको जोडीलाई २१–१९, २२–२० ले पराजित गर्दै उपाधिनजिक पुगे। अर्को सेमिफाइनलमा भाव्य छावरा र आङ्गेल पुनिराको जोडी जित हात पार्यो। उक्त जोडीले बिजोन जैसन र आन्या विष्टको जोडीलाई २३–२५, २१–१५, २१–१९ ले पराजित गर्दै फाइनलमा सानी र नेगीको जोडीसँगको भेट पक्का गरे।
पुरुष युगलतर्फ भाव्य छाबरा र परम चौधरीको जोडी लाई पराजित गर्दै उपाधिनजिक पुगे। उक्त जोडीले दभ्यांश रावत र योगांश सिंहको जोडीलाई २१–१२, २१–११ ले पराजित गरेका हुन्। अर्को खेलमा दिभ्यांस अग्रवाल र निरज केशरीको जोडीले जित हात पारे। उक्त जोडीले सी लालरामसँग र सौरभ साहुको जोडीलाई २१–१७, २१–१६ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सहभागी ९९ खेलाडीमध्ये भारतका ६०, नेपालका १६, थाइल्यान्डका १०, युएईका ४, इरानका ३, न्युजिल्यान्ड २ तथा मलेसिया, अस्ट्रेलिया, बंगलादेश र इन्डोनेसियाका १/१ जना खेलाडीहरूको सहभागिता रहेको थियो।