काठमाडौं। जय ट्रफी पुरुष इलिट कप पुस २१ गतेदेखि सुरु हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को पूर्ण सदस्य राष्ट्र बनाउने दूरदर्शी योजना अनुसार यस वर्षबाट बहु दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो ।
पुस २१ गतेदेखि माघ ३ सम्म हुने प्रतियोगिताको सम्पूर्ण खेल मधेस प्रदेशको वीरगन्जमा हुनेछ । प्रतियोगितामा पहिलो संस्करणमा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका शीर्ष चार टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेस प्रदेशले सहभागिता जनाउने छन् ।
प्रधानमन्त्री कपको फाइनलमा आर्मीलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको थियो । यस्तै, समूह चरणमा बागमती र मधेस प्रदेशले समान १२ अंक जोड्दै शीर्ष चार स्थान हात पारेका थिए । इलिट कपका लिग चरणका खेल दुई दिवसीय ढाँचामा हुनेछ । यस्तै, फाइनल खेल तीन दिवसीय ढाँचामा सञ्चालन गरिने क्यानले जनाएको छ ।