अन्तिम चार ओभरमा ६९ रन, मजबुत अवस्थामा विराटनगर

काठमाडौं। बसिर अहमदको पहिलो अर्धशतकसँगै विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ रोजेका थिए। तर, विराटनगरले पहिलो पावर प्लेमा राम्रो गर्न सकेन। लोकेश बम शून्य, दीपक बोहरा चार, स्कट एडवार्ड्स शून्यमा आउट भएका थिए। पावर प्ले समाप्त भएसँगै निकोलस किर्टन पनि आठ रनमा पभिलियन फर्किएपछि विराटनगरको ब्याटिङले संघर्ष गरिरहेको थियो। यद्यपि, मार्टिन गप्टिलले ४५ रनको इनिङ्स खेल्दै विराटनगरलाई जीवनदान दिए। १३.५ ओभरमा कुशल मल्लबाट बोल्ड हुनुपूर्व उनले ३५ बलमा एक चौका र चार छक्का प्रहार गरे। उनले पाँचौं विकेटका लागि बसिरसँग ६५ रनको साझेदारी गरे।
अर्कोतर्फ बसिरले राजेश पुलामीसँग अन्तिम चार ओभरमा ६९ रन जोड्दै विराटनगरलाई मजबुत अवस्थामा पुर्याए। ४४ बल खेलेका बसिरले चार चौका र चार छक्कासहित अविजित ६८ रन बनाए। राजेशले पनि ३३ रनको अविजित इनिङ्स खेले।














-1763024272658.jpeg&w=3840&q=75)