किशोरको बलिङसामु खुल्न सकेनन् सुदूरका ब्याटर

काठमाडौं। दायाँ हाते तीव्र गतिका बलर किशोर महतोसामु खुल्न नसक्दा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ड्सलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२३ रन बनाएको हो।
पहिलो पावर प्लेसम्म कुनै विकेट नगुमाई ४२ रन बनाएको सुदूरपश्चिमले सातौं ओभरको चौथो बलदेखि ब्याटिङमा संघर्ष गर्न थालेको हो। सुदूरपश्चिमले ओपनरद्वय साद बिन जाफरलाई २१ र विनोद भण्डारीलाई ३३ रनमा गुमाएको थियो। उनीहरूबीच पहिलो विकेटका लागि ५५ रनको साझेदारी भयो।
त्यसपछि कुनै पनि ब्याटरले यति ठूलो साझेदारी गर्न सकेनन्। डेब्यु खेल खेलेका हर्मीत सिंह एक, ब्रान्डन म्याकमुलन ११, कप्तान दीपेन्द्रसिंह ऐरी शून्य, इशान पाण्डे १७, आसिफ शेख ६, स्कट कुग्गेलिजन सात र नरेन साउदले तीन रन बनाए।
नरेश बूढाऐर नौ र अविनाश बोहरा दुई रनमा अविजित रहे। सुदूरपश्चिमका लागि किशोर सबैभन्दा घातक रहे। चार ओभर बलिङ गरेका उनले चार विकेट लिन २८ रन खर्चिए। जारी एनपिएलमा उनको यो अहिलेसम्मकै उत्कृष्ट बलिङ फिगर हो।
यसअघि उनले विराटनगर किङ्सविरुद्ध १८ रन खर्चिँदै दुई विकेट लिएका थिए। यस्तै, शेर मल्ल र अरनिको यादवले समान दुई विकेट लिए। एक विकेट भने क्यानेडाली बलर हर्ष ठाकरको नाममा रह्यो।














-1763024272658.jpeg&w=3840&q=75)