काठमाडौं। जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले विजयी सुरूआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू भएको प्रतियोगितामा जनकपुरले विराटनगर किङ्समाथि ८ विकेटको जितसहित विजयी सुरुआत गरेको हो। तर खेलमा खासै रन बन्न सकेन। जनकपुरसमक्ष विराटनगरले १२८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। जनकपुरले १५.३ ओभरमा दुई विकेट गुमाउँदै १३१ रन बनाएर सहज जित हात पार्यो।
खेलपछि जनकपुरका कप्तान अनिलकुमार साहले नयाँ पिचमा ब्याटिङ गर्न समस्या भएको बताए। ‘पहिला हेर्दाखेरी विकेट १६० जस्तो लागेको थियो । त्यति बनेको भए खेल रोमाञ्चक र कठिन दुवै हुन्थ्यो । तर, विकेट अलिक लो बस्यो र बल ब्याटमा आइदिएन । त्यसैले पहिलो खेल एकदमै गाह्रो बन्यो,’ खेलपछि उनले भने । दुवै इनिङ्समा विदेशी खेलाडीमात्रै चम्किए।
विराटनगर किङ्सका मार्टिन गुप्टिलले ५५ र जनकपुरका लाहिरू मिलिन्थाले अविजित ७५ रन बनाए। अन्य खेलाडीले भने रन बटुल्न सकेनन्। अनिल उनीहरूबाट धैर्यता सिक्नुपर्ने बताउँछन्।
‘मार्टिन गुप्टिललाई पनि सुरुमा ब्याटिङ गर्न गाह्रो भएको थियो । तर, उनले समय लिएर खेले। लामो समय टिकेपछि उनले पिच कन्डिसनबारे थाहा पाउँदै गए र पछि रन बनाए,’ उनले भने,‘विदेशी खेलाडीले धेरै ठाउँमा खेल्दै अनुभवी बटुलेका छन्। त्यसैले आज उनीहरुको प्रदर्शन उत्कृष्ट रह्यो। हामीले उनीहरुबाट यसरी नै टिकेर खेल्न सिक्नु पर्छ।’