रश्मिको त्यो उत्कृष्ट गोल, जसले भारतविरुद्ध दिलाएको थियो ऐतिहासिक जित

काठमाडौं। पुरुष होस् वा महिला। फुटबलमा नेपाल र भारतको प्रतिस्पर्धा सधैँ चर्चाको शिखरमा हुने गरेको छ। यी दुईको प्रतिस्पर्धामा नतिजामात्रै होइन, गोल र प्रदर्शनले पनि ठूलै प्रभाव पार्ने छ।
दक्षिण एसियाली महिला फुटबलमा भारतको प्रभुत्व रहेको छ र उसलाई पछ्याउने, उछिन्ने प्रयास नेपालले गरिरहेको छ। साफ महिला च्याम्पियनसिपको उपाधि लगातार पाँचपल्ट भारतले जित्दा चारपल्टको फाइनल नेपालले खेलेको थियो। त्यसैले महिला फुटबलमा पनि नेपाल र भारतको प्रतिस्पर्धा आकर्षक बन्ने गरेको छ।
कुरा दुई वर्षअघिको हो। दशरथ रंगशालामा भइरहेको प्रतियोगिता थियो साफ महिला च्याम्पियनसिप २०२२। घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन भारतको भेट सेमिफाइनलमै भयो। नेपाली महिला टोलीले कहिल्यै हराउन नसकेको अवस्थामा भारतविरुद्ध भिड्न लागेको थियो।
तर, नतिजा फरक आयो। नेपाल र भारतको प्रतिस्पर्धाको कथा फेरियो। कथा फेर्ने काम गरेकी थिइन् स्ट्राइकर रश्मीकुमारी घिसिङले। रश्मिले पहिलो हाफको इन्जुरी समयमा गरेको गोलमा नेपालले भारतलाई १–० ले हराएर साफमा पाँचौंपल्ट फाइनलमा स्थान बनाएको थियो।
प्रीति राईले मिहिनेतपूर्वक दिएको पासमा नियन्त्रण गर्दै रश्मिले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बलमा नेपालले अग्रता लिएको थियो। ढिलागरी बल प्रहार गरेपनि त्यसमा रश्मिको ‘फिनिसिङ’ स्तरीय थियो। उनले सोही साफमा श्रीलंकाविरुद्ध ६–० को जितमा पनि पहिलो गोल गरेकी थिइन्।
स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ खेल्न नसक्ने अवस्थामा रश्मिले नेपाललाई भारतविरुद्ध एतिहासिक जित दिलाएकी थिइन्। हुन त पहिलो रोजाइका मिडफिल्डर रेनुका नगरकोटे र डिफेन्डर पूजा राना चोटको कारण टोलीबाहिरै थिए। विंगर मन्जलीकुमारी योन्जनलाई डेंगुले सताएको थियो। यस्तो परिस्थितिमा नेपाली टोलीलाई उकासेकी थिइन् रश्मिले।
फेरि त्यस्तै गोल गर्ने चाहना
यिनै रश्मि साफ महिलाको सातौं संस्करणमा पनि राम्रो छाप छाड्न तयार छिन्। ‘भारतविरुद्ध त्यो गोलको क्षणलाई सम्झदा मैले टोलीलाई एकदम राम्रो दिएजस्तो लाग्छ,’ बिहीबारदेखि हुने साफ महिला च्याम्पियनसिप २०२४ को अन्तिम तयारीमा रहेकी उनले भनिन्, ‘यसपालि हामीले फेरि भारत वा बंगलादेशविरुद्ध सेमिफाइनल खेल्नुपर्ने हुनसक्छ। म फेरि त्यो गोल दोहोर्याउन चाहान्छु।’
यो साफको तयारीमा उनले आफ्नो तौल आठ केजी घटाएकी छन्। भन्छिन्, ‘हामी सबै फिट छौं। लक्ष्य ‘गोल्ड मेडल’ ल्याउने हो। हामी सबैले गोल्ड मेडल सोचिरहेका छौं र योपालि हुन्छ भन्ने एकदम आशा छ।’ साफ महिला २०२२ को फाइनलमा नेपाली टोलीलाई ३–१ ले हराएर बंगलादेश पहिलोपल्ट च्याम्पियन भएको थियो। त्यसैले नेपाली टोली पहिलो उपाधिको खोजीमा रहेको छ।
पहिला नम्बर १०, अहिले नम्बर ९
‘मलाई अवसर दियो भने राम्रो गर्नेमा विश्वस्त छु,’ २२ वर्षीया रश्मिले भनिन्, ‘मैले पहिलाभन्दा सुधार गरेजस्तो लाग्छ। पहिला नम्बर १० को भूमिकामा खेल्थें। अहिले नम्बर ९ खेल्छु। पहिला मेरो पासिङ राम्रो थियो भने अहिले स्कोरिङ एकदम राम्रो गरिरहेकी छु। ट्रेनिङ र राष्ट्रिय लिगमा जसरी गोल गरिरहेकी छु, साफमा पनि त्यस्तै गर्छु भनेर मिहिनेत गरिरहेकी छु।’
अहिले ब्रेक लागेको राष्ट्रिय महिला लिगकी सर्बाधिक गोलकर्ता रश्मि अन्तर्राष्ट्रिय फुटबलमा दुई वर्षयताको गोलको खडेरी तोड्न चाहान्छिन्, जसको फाइदा मुख्यप्रशिक्षक राजेन्द्र तामाङले सम्हालेको नेपाली टोलीले यो साफ च्याम्पियनसिपमा लिनसक्छ।
नेपालले भुटानविरुद्ध शुक्रबार हुने खेलमा साम्बा उपलब्ध हुने छैनन्। त्यसैले अबुधावी कन्ट्री क्लबमा आबद्ध रेखा पौडेल र रश्मिले नेपालको अग्रपंक्ति सम्हाल्ने छन्। रेनुका, प्रिती, सरु लिम्बुको आगमनले मिडफिल्ड बलियो भएको महसुस गरेकी रश्मि यसपालि नेपालको अग्रपंक्ति सबैभन्दा बलियो भएको बताउँछिन्।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


