एजेन्सी । ब्याटिङमा महेन्द्र सिंह धोनी र बलिङमा युजभेन्द्र चाहलले उच्च प्रदर्शन गरेपछि भारतले घरेलु टोली अष्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।
शुक्रबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई ७ विकेटले हराएर भारतले सिरिज २ - १ ले जितेको हो ।
मेलबर्नमा अष्ट्रेलियाले दिएको २३१ रनको लक्ष्य भारतले ४९ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा महेन्द्र सिंह धोनीले अविजित ८७ रन जोडे । यस्तै केदार जदाबले अविजित ६१ रनको अर्धशतकीय इनिङस खेल्दा कप्तान विराट कोहलीले ४६ रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४८ ओभर ४ बलमा अलआउट हुँदै २३० रन बनाएको थियो । अष्ट्रेलियाका लागि पिटर ह्यान्ड्सकम्पले ५८ रन जोडे । यस्तै शन मार्शले ३९ तथा उस्मान ख्वाजाले ३४ रन बनाए ।
अष्ट्रेलियालाई सस्तैमा समेट्न भारतका लागि युजभेन्द्र चाहल एक्लैले ६ विकेट लिए । यस्तै भुवनेश्वर कुमार र मोहमद सामीले २/२ विकेट लिए ।
योसंगै भारतले टेष्ट र एकदिवसीय सिरिज जित्दै अष्ट्रेलिया भ्रमण सकाएको छ । भारतले घरेलु टोलीविरुद्धको टेष्ट सिरिज पनि २ - १ ले जितेको थियो । जुन भारतले ७१ बर्षपछि पहिलोपटक अष्ट्रेलियाविरुद्धको सिरिज जितेको हो ।