काठमाडौं। श्रेयस अय्यरले अगस्ट १५ बाट सुरु हुने बुची बाबु प्रतियोगितामा मुम्बईबाट खेल्ने भएका छन् । उनी यस प्रतियोगितामा अगस्ट २७ देखि उपलब्ध हुनेछन्। सोही दिन मुम्बईको जम्मु कश्मीरसँगको खेल सुरु हुनेछ ।
ढाडको चोटका कारण अय्यरले गत सिजन केही प्रथम श्रेणी खेल गुमाएका थिए । तर, उनले आईपीएलमा पुनरागमन गरे। फेब्रुअरीमा भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) सँगको केन्द्रीय सम्झौता उनले गुमाएका थिए। तर, अय्यर हालै श्रीलंकाविरुद्धको एकदिवसीय शृंखलामा भारतीय टोलीको हिस्सा रहे। तीन खेलमा उनले २३, ७ र ८ रनको इनिङ्स खेले।
अय्यरले यस वर्षको सुरुमा इङ्ल्यान्डविरुद्धको घरेलु टेस्ट शृंखला पनि खेले। मार्चमा मुम्बईले रणजी ट्रफी जित्दा पनि उनी टोलीसँग थिए। फाइनलमा विदर्भविरुद्धको दोस्रो इनिङ्समा उनले ९५ रनको इनिङ्स खेलेका थिए ।
अय्यरले अहिलेसम्म कुल ७२ प्रथम श्रेणी खेल खेलेका छन्। जसमा उनले ४८.८२ को औसतमा ५६६४ रन बनाएका छन् । यस अवधिमा अय्यरले १३ शतक र ३० अर्धशतक प्रहार गरेका छन् ।