काठमाडौं। श्रीलंकाविरुद्धको तेस्रो एकदिवसीय खेलमा ११० रनले पराजित भएपछि भारतीय कप्तान रोहित शर्माले ‘विश्वको अन्त्य’ नभएको बताएका छन्।
श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछ्याएको भारत २६.१ ओभरमा १३८ रनमा अलआउट भयो। सन् २०२३ को विश्वकपको फाइनलमा पुग्ने टोलीले शृंखला हार्नु चिन्ताको विषय बताए।
‘श्रीलंकासँग शृंखला गुमाउँदैमा विश्वकै अन्त्य भएको भन्ने होइन। मलाई लाग्छ अब धेरै क्षेत्रमा ध्यान दिनुपर्छ। यस्तो परिस्थितिको सामना गर्दा हामीले के गर्नुपर्छ भनेर फर्केर हेर्नुपर्छ,’ उनले भने।
यसअघि ट्वान्टी–२० शृंखलामा भारतले श्रीलंकालाई ३–० ले हराएको थियो। भारतीय कप्तानले आफ्नो टिमले राम्रो प्रदर्शन गर्न नसकेको स्वीकारेका छन्। उनले भने, ‘हामीले शृंखलाभर राम्रो क्रिकेट खेलेका छैनौं, त्यसैले हामी यस्तो परस्थिमा उभिएका हौं।’
कोलम्बोको प्रेमदासा रंगशालामा भएको तेस्रो एकदिवसीय खेलमा भारत श्रीलंकासँग ११० रनले पराजित भएको थियो। यससँगै भारतीय टोलीले २७ वर्षपछि श्रीलंकासँग एकदिवसीय शृंखला गुमाएको छ। शृंखलाको पहिलो खेल ‘टाइ’ हुँदा दोस्रो खेलमा श्रीलंका ३२ रनले विजयी भएको थियो।
शृंखलाभर भारतीय ब्याट्सम्यानलाई श्रीलंकाका स्पिनरले दुख दिएका थिए। भारत प्रत्येक खेलमा अलआउट भएको थियो, जसमध्ये २७ विकेट श्रीलंकाका स्पिनरहरूले लिएका थिए।
कोलम्बोमा भएको तेस्रो एकदिवसीय खेलमा भारतीय बलरहरूले प्रभावकारी प्रदर्शन गर्न सकेनन्। जसका कारण अविष्का फर्नान्डोले ९६ र कुशल मेन्डिसले ५९ रन बनाएर र भारतलाई २४९ रनको लक्ष्य दियो।
जवाफमा भारत एक सय ३८ रनमा अलआउट भयो। बलिङतर्फ डुनिथ वेल्सले २७ रन खर्चेर ५ विकेट लिए। अविष्का फर्नान्डो प्लेयर अफ द म्याच घोषित भए।