ई–स्पोर्ट्स संघले सात प्रतियोगिता आयोजना गर्ने

काठमाडौं। नेपाल ई–स्पोर्ट्स एसोसिएसन (इसान)ले भदौदेखि जेठसम्म विभिन्न सात प्रतियोगिता आयोजना गर्ने भएको छ।
मंगलबार पत्रकार सम्मेलनमार्फत एसोसिएसनले २०२४/०२५ को लागि वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
खेल, खेलाडीको विकास र प्रवर्द्धधन गर्ने उद्देश्यका साथ चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम तयार पारेको एसोसिएसनले जनाएको छ। ई–स्पोर्ट्सको ग्रासरूट मानिने कलेज च्याम्पियनसिपदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र सहभागीलाई पनि समावेश गरेको छ।
एसोसिएसनले भदौमा इसान इन्टर कलेज नेसनल च्याम्पियनसिप आयोजना गर्नेछ। असोजमा बागमती ई–स्पोर्ट्स च्याम्पियनसिप, मंसिरमा एसियन मार्शल आर्ट एन्ड इन्डोर गेम्स, माघमा दोस्रो इसान नेसनल ई–स्पोर्ट्स च्याम्पियनसिप र चैतमा इसान ई–स्पोर्ट्स अवार्ड गर्ने एसोसिएसनले जनाएको छ।
यस्तै, चैत/बैशाखमा एसियन ई–स्पोर्ट्स च्याम्पियनसिप र जेठमा कोशी ई–स्पोर्ट्स च्याम्पियनसिप आयोजना गर्नेछ। नीजि क्षेत्र, अन्तर्राष्ट्रिय गेमिङ कम्पनी, विभिन्न क्लब तथा संस्था, जिल्ला र प्रदेशस्तरका संरचनाले आयोजना गर्ने कार्यक्रमहरु यस क्यालेन्डरमा राखिएको अध्यक्ष अञ्जन धमलाले जानकारी दिए।
पछिल्लो एसियन गेम्समा समावेश गरिएका पब्जी, एमएल, डोटा, अनर अफ किंग्स, ई–फुटबललगायतलाई घरेलु प्रतियोगितालाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।