रियालाई ४५ औं चेस ओलम्पियाड खेल्ने अवसर

काठमाडौं। १५ वर्षीया रिया श्रेष्ठले हंगेरीको बुडापेस्टमा हुने ४५ औं चेस ओलम्पियाड २०२४ मा प्रतिस्पर्धा गर्ने भएकी छन्। उनले सुजना लोहनीको स्थानमा ओलम्पियाड खेल्ने अवसर पाउने भएकी हुन्।
अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) ले प्रकाशित गरेको सूचीमा नेपाली महिला टिममा रियासहित पाँच खेलाडी छन्।
गत जेठमा भएको नेसनल चेस च्याम्पियनसिपमा पाँचौं भएकी थिइन्। गत वर्ष राष्ट्रिय च्याम्पियन हुँदै ओलम्पियाडमा छनोट भएकी सुजना अस्ट्रेलियामा रहेकी छन्। सुजनाले ओलम्पियाडमा सहभागि हुन नसक्ने जानकारी दिएपछि नेपाल बुद्धिचाल महासंघले उनको स्थानमा रियाको नाम पठाएको बताइएको छ।
बुडापेस्टमा सेप्टेम्बर १० देखि २३ सम्म हुने ४५औं ओलम्पियाडमा फिडे रेटिङ १६४० की रियासहित कृतिसरा अधिकारी (१७४६), सिन्दिरा जोशी (१७०८), पूजा भण्डारी (१६८७) र शान्ति धिमाल (१६७८) को नेपाली महिला टिमले प्रतिस्पर्धा गर्नेछ। १८०६ रेटिङकी सुजना नखेल्ने भएपछि औसत रेटिङको आधारमा निर्धारित गरिने वरीयतामा नेपाली टिम पछाडि परेको छ।
४५औं ओलम्पियाडमा एक सय ८१ देशका महिला टिम सहभागि छन्, जसमा नेपाली टिम एक सय १७औं वरीयतामा परेको छ। नेपाली महिला टिमको औसत रेटिङ १७०५ रहेको छ।
यो ओलम्पियाडमा पुरुषतर्फ एक सय ९३ देशका टिम सहभागि हुँदैछन्, जसमा नेपाल औसत रेटिङ २१०६ सहित वरीयतामा एक सय १५औं स्थानमा परेको छ।
नेपाली टिममा विवेक थिङ (२२८२), क्षितीज भण्डारी (२०९०), रुपेश जैसवाल (२०३९) राष्ट्रिय च्याम्पियन राजन सुवेदी (२०१३) र सुश्रुत दाहाल (२००५) छन्। रुपेश गत वर्षका राष्ट्रिय च्याम्पियन हुन्।
फिडे रेटिङमा सबैभन्दा अगाडि रहेको आधारमा पुरुष खेलाडी विवेकले ४५औं ओलम्पियाड खेल्ने अवसर पाउँदा महिलातर्फ सक्रिय खेलाडीमध्ये शीर्ष रेटिङमा रहेकी तारा घले भने छुटेकी छन्। दुवै खेलाडी अस्ट्रेलियामा छन्। यस्तोमा १८३७ रेटिङकी तारा ओलम्पियाड खेल्ने अवसरबाट बञ्चित भएकी हुन्।