बलिङ डिपार्ट नचल्दा पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं। बलिङ डिपार्ट नचल्दा नेपालले एसिसी महिला एसिया कपमा पाकिस्तानसँग हार बेहोरेको छ।
आइतबार राति सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको हो।
नेपालले दिएको १०९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ११.५ ओभरमा एक विकेट गुमाएर ११० रन बनायो। समूह ए मा रहेको पाकिस्तानको यो पहिलो जित हो।
यसअघि पाकिस्तान पहिलो खेलमा साबिक विजेता भारतसँग नौ विकेटले पराजित भएको थियो। नेपालले भने युएईलाई ६ विकेटले पराजित गरेको थियो।
यो जितसँगै दुई अंक जोडेको पाकिस्तानले नेपाललाई नेटरननेटमा उछिनेर दोस्रो स्थानमा पुगेको छ। समान अंक जोडेपनि नेपाल तेस्रो स्थानमा झरेको छ।
नेपालले मंगलबार साबिक विजेता भारतसँग समूहचरणको अन्तिम खेल खेल्ने छ। सोही दिन पाकिस्तानले युएईसँग खेल्नेछ। यी दुई खेलको नतिजाले भारतसँगै को सेमिफाइनल पुग्छ भन्ने टुंगो लाग्ने छ।
पाकिस्तानका लागि गुल फिरोजाले सर्वाधिक ५७ रन बनाइन्। ३५ बल खेलेकी उनले १० चौका प्रहार गरिन्। मुनिबा अली ४६ रनमा अविजित रहिन्। ३४ बल खेलेकी उनले आठ चौका प्रहार गरिन्। यस्तै, तुबा हसन एक रनमा अविजित रहिन्।
नेपालकी कविता जोशीले एक विकेट हात पारिन्। त्यसअघि रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो।
नेपालकी कविता जोशीले अविजित रहँदै सर्वाधिक ३१ रन बनाइन्। २३ बल खेलेकी उनले चार चौका र एक छक्का प्रहार गरिन्। उनले छैटौं विकेटका लागि पूजा महतोसँग ३२ बलमा ३४ रनको साझेदारी गरेकी थिइन्।
सीता रानामगर २६, पूजा महतो २५ र कविता कुँवर १३ रनमा आउट भइन्। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।
पाकिस्तानकी सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन्। यस्तै, फातिमा सानाको नाममा एक विकेट रह्यो।






-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)



-1763450218248.jpg&w=3840&q=75)

