मधेश चेसमा लक्ष्मणलाई सफलता

जनकपुर। अखिल नेपाल चेस संघद्वारा आयोजित मधेश प्रदेश स्तरीय भेट्रान चेस प्रतियोगितामा सर्वाधिक पाँच अंक जोड्दै लक्ष्मणकुमार सेठले उपाधि जितेका छन्।
पूर्वएफएम (फिडे मास्टर) सुजेन्द्रप्रसाद श्रेष्ठको स्मृतिमा भइरहेको ५० वर्षमाथिको र्यापिड चेसमा १७३४ रेटिङका लक्ष्मणले शतप्रतिशत जितसहित सफलता हात पारेका हुन्। स्वीस प्रणालीको आधारमा पाँच चरणमा आयोजित प्रतियोगितामा १६१७ रेटिङका राजनारायण चौधरी ४ अंकसहित उपविजेता भए। उनी तेस्रो चरणमा लक्ष्मणविरुद्ध हारेका थिए।
सुरेन्द्रकुमार साह र विनोदकुमार गुप्ताले समान ३.५ अंक जोडे। टाइब्रेकरको आधारमा सुरेन्द्र तेस्रो भए। २० जना खेलाडी सहभागि प्रतियोगितामा दामोदर भुजेल (तीन अंक) शीर्ष पाँचमा अटाए।
माओवादीनिटक अखिल नेपाल चेस संघले यसअघि नै बाग्मती, लुम्बिनी, कर्णाली, कोशी, सुदूरपश्चिममा प्रदेशस्तरीय सम्पन्न गरिसकेको छ। गण्डकीमा असार २९ गते हुनेछ। त्यसपछि राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने संघका अध्यक्ष एवम् नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईले बताए।