बेनी। प्रथम म्याग्दी युवा कप-२०८१ पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगितामा रघुगंगा गाउँपालिका, धौलागिरी गाउँपालिका र बेनी नगरपालिकाले विजयी शुरूआत गरेका छन्।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा सोमबारदेखि शुरू भएको प्रतियोगिताको पहिलो खेलमा रघुगंगाले मंगलालाई ३-१ को सेटमा पराजित गरेको छ।
पहिलो सेट रघुगंगाले २५-२३ ले जितेको थियो। तर, दोस्रो सेटमा मंगलाले २५-१४ ले पुनरागमन गर्यो। यद्यपि, रघुगंगाले त्यसपछिका दुई सेट २५-२१ र २५-१९ ले जित्यो।
अर्को खेलमा धैलागिरीले अन्नपूर्णलाई ३-१ कै सेटमा पराजित गर्यो। पहिलो र दोस्रो सेट २५-२२ अंकले जितेको धैलागिरीले तेस्रो सेट २४-२६ ले गुमाएको थियो।
तर, चौथो सेटमा २५-१९ को जित हासिल गर्दै धौलागिरी खेलमा विजयी भयो। दिनको तेस्रो तथा अन्तिम खेलमा बेनी नगरपालिकाले जलजला गाउँपालिकालाई ३-१ सेटमा पराजित गर्यो।
पहिलो र दोस्रो सेट बेनीले २५-१५ र २५-२२ ले जितेको थियो। तर, तेस्रो सेट २५-२२ ले जित्दै जलजलाले पुनरागमन गर्यो।
चौथो सेटमा २६-२४ को जित निकाल्दै बेनी विजयी भयो। जित हासिल गर्ने तीन वटै टोली क्वार्टरफाइनलमा पुगेका छन्।
पुरुषतर्फको उपाधि विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। द्वितीयले १ लाख २० र तृतीयले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।
महिलातर्फ प्रथम हुने टोलीले ८० हजार, द्वितीयले ४० हजार, तृतीयले २० हजार र सान्त्वनाले १० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।