‘भारतको प्रतिस्पर्धी दुई–तीन टिमबाहेक अरू देख्दिनँ’

काठमाडौँ। आईसीसी टी–२० विश्वकपपछि भारतीय टोलीको मुख्य प्रशिक्षक परिवर्तन हुनेछ। यदि राहुल द्रविडले फेरि आवेदन दिएनन् भने भारतीय टोलीले नयाँ प्रशिक्षक पाउनेछ।
यसका लागि धेरै दाबेदार छन्। तर, पछिल्ला केही दिनयता भारतका पूर्वओपनर गौतम गम्भीरलाई सबैभन्दा बलियो दाबेदार मानिएको छ।
केही भारतीय मिडियाका अनुसार बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले कोलकाता नाइट राइडर्सका वर्तमान मेन्टर गम्भीरलाई ‘अप्रोच’ गरेको छ।
यसैबीच गम्भीरले इन्डियन प्रिमियर लिग (आईपीएल) र भारतीय टोलीमा छनोट भएका खेलाडीका बारेमा आफ्नो राय दिएका छन्। आईपीएलमा क्रिकेटको बढ्दो गुणस्तरबाट गम्भीर प्रभावित छन्। तर, उनी फ्रेन्चाइजमा आधारित टी-२० लिगले युवाहरूलाई भारतीय टोलीमा प्रवेश गर्न मार्ग प्रशस्त गरोस् भन्ने चाहँदैनन्।
‘मेरो लागि सबैभन्दा ठूलो चिन्ता भनेको भारतका लागि टेस्ट क्रिकेट खेल्न कति युवा चाहन्छन् भन्ने हो,’ गम्भीरले स्पिनर रविचन्द्रन अश्विनसँगको युट्युब च्याटमा भने, ‘प्राय: आईपीएल खेल्न चाहन्छन्, टी–२० क्रिकेटका लागि तयारी गर्छन्। मलाई लाग्छ उनीहरूको ध्यान टी–२० क्रिकेट खेल्नेमा बढी छ। त्यसैले आईपीएल भारतीय टोलीमा खेल्ने सर्टकट साबित हुनेछैन भन्ने मलाई आशा छ।’
कोलकाताका मेन्टरले आईपीएलबाट भारतीय क्रिकेटरलाई फाइदा पुगेको बताए। ‘आजको युगमा भारतविरुद्ध टी–२० आई खेल्ने टोलीलाई हेर्दा दुई–तीनबाहेक म धेरै प्रतिस्पर्धी टिम देख्दिनँ,’ उनले भने, ‘धेरै टिमले भारतसँग बराबरी गर्न सक्दैनन्। त्यसैले मलाई लाग्छ, आईपीएल अन्तर्राष्ट्रिय टी–२० क्रिकेटभन्दा निकै प्रतिस्पर्धात्मक छ। हाम्रा घरेलु खेलाडीको स्तर बढेको छ।’
सन् २०११ को एक दिवसीय विश्वकपको फाइनलमा भारतलाई शानदार जित दिलाएका गम्भीरले कोलकाता लाई सन् २०१२ र २०१४ मा आईपीएलको उपाधि दिलाएका थिए।
उनको मेन्टरसिपमा टोलीले यस सिजनमा शीर्ष स्थानका साथ ‘प्लेअफ’का लागि क्वालिफाई गरेको थियो। मंगलबार राति सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा पुगिसकेको छ। सामान्यतया आफ्नो अनुहारमा आक्रामक भाव राख्ने गम्भीरलाई यस विषयमा पनि प्रश्न सोधिएको थियो।
उक्त प्रश्नको जवाफ दिँदै उनले भने, ‘धेरै पटक मानिसहरू मेरो बारेमा भन्छन्- उनी मुस्कुराउँदैनन्, जहिले पनि आक्रामक देखिन्छन्। तर, मानिसहरू मलाई मुस्कुराइरहेको हेर्न आउँदैनन्, मेरो टिमको जित हेर्न आउँछन्। म मनोरञ्जनको विषय र बलिउड अभिनेता होइन, क्रिकेटर हुँ।’





-1777639738077.jpeg&w=3840&q=75)









-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)