काठमाडौँ। रोयल च्यालेन्जर्स बेंगलुरू इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो खेलमा पराजित भएको छ।
मंगलबार राति सम्पन्न खेलमा बेंगलुरू लखनउ सुपर जायन्ट्ससँग २८ रनले पराजित भएको हो। बेंगलुरूको यो लगातार दोस्रो र सम्रगमा तेस्रो हार हो।
पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भएको बेंगलुरूले पञ्जाब किंग्सलाई ४ विकेटले हराएको थियो। तर, त्यसपछि कोलकाता नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको बेंगलुरू लखनउसँग पनि पराजित भएको हो।
लखनउले दिएको १८२ रनको लक्ष्य पछ्याएको बेंगलुरूले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनायो। बेंगलुरूका महिपाल लोमरोरले सर्वाधिक ३३ रन बनाए। १३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।
रजत पाटिदार २९, विराट कोहली २२, फाफ डूप्लेसी १९, मोहम्मद सिराज १२ र अनुज रावत ११ रनमा आउट भए। लखनउका मयंक अग्रवालले सर्वाधिक ३ विकेट लिए।
नवीन उल हकले २ विकेट लिँदा यश ठाकुर, मार्कस स्टोयनिस र मनिमारन सिद्धार्थको नाममा १/१ विकेट रह्यो।
त्यसअघि एन चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो।
लखनउका डि काकले सर्वाधिक ८१ रन बनाए। ५६ बल खेलेका उनले ८ चौका र ५ छक्का प्रहार गरे। मार्कस स्टोयनिस २४, केएल राहुल २० र देवदत्त पडिक्कल ६ रनमा आउट हुँदा निकोलस पूरन ४० रनमा अविजित रहे।
बेंगलुरूका ग्लेन मक्सवेलले सर्वाधिक २ विकेट लिए। रिस टोप्ली, यश दयाल र मोहम्मद सिराजको नाममा १/१ विकेट रह्यो।
जितसँगै लखनउ ४ अंकसहित चौथो स्थानमा उक्लिएको छ। बेंगलुरूको २ अंक रहेको छ।