काठमाडौं । आईसीसी विश्वकप लिग टूमा नामिबियाले नेदरल्याण्ड्लाई हराएको छ ।
शुक्रबार कीर्तिपुर मैदानमा भएको खेलमा नामिबियाले नेदरल्याण्ड्समाथि २४ रनको जित निकालेको हो ।
नामिबियाले प्रस्तुत गरेको २ सय ३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४३ दशमलव ५ ओभरमा १ सय ७९ रनमा समेटियो ।
अन्तिम समयमा बर्नार्ड शोल्ट्ज र जान फ्राइलिन्क चम्किएपछि नेदरल्याण्ड्सको इनिङ्स धरासायी बनेको हो ।
नुह क्रोसले अविजित ४६ रन बनाएपनि टोलीको हार टार्न भने सकेनन् ।
ओपनर मेक्स ओडाँडले ४१ रन बनाएका थिए । बास डी लिडेले २४ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन ।
गेरहार्ड इरास्मस र जान फ्राइलिन्कले समान ३ विकेट लिएको खेलमा बर्नार्ड शोल्ट्जले २ विकेट हात पारे । जान निकोन र रुबेन ट्रम्पेलमेनको नाममा समान एक एक विकेट रह्यो ।
सुरुवातमा ब्याटिङ गरेको नामिबिया ४१ दशमलव ३ ओभरमा २ सय ३ रनमा समेटिएको थियो ।
जान निकोन लोफ्टी इटनले ४९ रन बनाएको इनिङ्समा मालक क्रुगरले ३९ रनको योगदान गरे । जान फ्राइलिन्कले ३४ रन बनाए । रुबेन ट्रम्पेलमेनले अविजित २३ र जेन ग्रिनले २२ रनको योगदान दिए ।
नेदरल्याण्ड्सका विवियन किंग्माले तीन तथा आर्यन दत्त र रुलोफ वानले समान दुई विकेट झारे । शारिज अहमद र बास डी लिडेले समान एक एक विकेट हात पारे ।
विश्वकपको लिग टूमा नामिबियाको यो तेस्रो जित हो । नामिबियाले सुरुवाती ४ मध्य ३ खेलमा जित निकाल्दै ६ अंक जोडेको छ ।
नेपाल र नेदरल्याण्ड्सको समान २ अंक भएको छ । नेपाल भ्रमणमा रहेको नेदरल्याण्ड्सले घरेलु टोलीसँग अन्तिम म्याच खेल्नेछ ।