काठमाडौं । मधेश प्रदेशले मनमोहन मेमोरियल यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
सोमबार पोखरामा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै मधेशले प्रतियोगिताको उपाधि जितेको हो ।
सुरुवातमा ब्याटिङ गरेको सुदूरपश्चिमले २० दशमलव २ ओभरमा अलआउट हुँदै ८६ रन बनाएको थियो ।
विशाल विष्टले २४ रन बनाएको इनिङ्समा निराजन गौतमले १८ र सचिन साउदले १४ रनको योगदान गरे । मधेशका धिरेन्द्र पासवानले ४ तथा रोहन यादवले ३ विकेट हात पारे । चन्दन रामको नाममा एक विकेट रह्यो ।
८७ रनको सामान्य लक्ष्य मधेशले २० दशमलव १ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
मधेश प्रदेशको जितमा परिमर्जन यादवले अविजित ३० रन बनाए । एमडी आरमनले २० तथा प्रियान्सु कर्णले १३ रनको योगदान दिए । सुदूरका डम्बर माझीले २ तथा सचिन भट्ट र निरज ऐरले १ विकेट हात पारे ।
उपाधि सहित मधेश प्रदेशले एक लाख रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्यो । उपविजेता सुदूरपश्चिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल, खेल सामाग्री र प्रमाणपत्र हात पारेको छ ।