काठमाडौं । आईसीसी विश्वकप लिग टूको खेलमा नेदरल्याण्ड्सले नामिबियालाई हराएको छ । सोमबार कीर्तिपुर मैदानमा नेदरल्याण्ड्सले नामिबियालाई ७ विकेटले हराएको हो ।
१ सय २४ रनको झिनो लक्ष्य नेदरल्याण्ड्सले २७ दशमलव २ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
माइकल लेविटले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपछि डच टिमको जित सम्भव भएको हो ।
मेक्स ओडाडले २८ रनको योगदान गरे । बास डी लिडले अविजित २१ रनको इनिङ्स खेले । नामिबियाका गेरहार्ड इरास्मस एक्लैले नेदरल्याण्ड्सको ३ विकेट झारे ।
सुरुवाती ब्याटिङ गरेको नामिबिया ३५ दशमलव १ ओभरमा १ सय २३ रनमा अलआउट भएको थियो । जोहान्स जोनाथन स्मिटले बनाएको २६ रनको ब्यक्तिगत ठुलो स्कोर रह्यो ।
नेदरल्याण्ड्सका आर्यन दत्तले ६ विकेट लिएपछि नामिबिया सस्तैमा समेटिएको हो । काइल क्लेनले २ तथा रुलोफ वान डेर मेर्वे र मेक्स ओडाडले समान एक एक विकेट लिए ।
पछिल्लो नतिजाले विश्वकपको लिग टूको तालिकामा नेपाल, नामिबिया र नेदरल्याण्ड्सले समान २ अंक जोडेका छन् ।
पहिलो खेलमा नेपाल नामिबियासँग पराजित बनेको थियो भने दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएको थियो । तेस्रो खेलमा आएर नेदरल्याण्ड्सले नामिबियाविरुद्ध शानदार जित निकालेको हो ।