काठमाडौं । रुपन्देहीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन सरेको छ ।
नेपालमा सञ्चालन भैरहेको आईसीसी विश्वकप लिग टू र टी ट्वान्टी प्रतियोगिताको कारण उद्घाटन कार्यक्रम सारिएको एक्स्ट्राटेक ओभलका निर्देशक बिनोद कुँवरले जनाएका छन् ।
नीजि लगानीमा रुपन्देहीमा बनिरहेको अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला फागुन १४ गते उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । क्रिकेट मैदान उद्घाटनको दिन लिजेण्ड्स कप क्रिकेट आयोजना गर्ने आयोजकको तयारी छ ।
नेपालमा चलिरहेको प्रतियोगिताका कारण केही भूतपूर्व खेलाडी उपलब्ध नहुने देखिएपछि आयोजकले कार्यक्रम करिब दुई हप्तालाई सारिएको जानकारी दिएको छ ।
निर्देशक कुँवरका अनुसार एक्स्ट्राटेक ओभल नयाँ तालिका अनुसार फागुन २८ गते उद्घाटन हुनेछ । कार्यक्रमलाई थप प्रभावकारी बनाउन समय हेरफेर गरिएको कुँवरले बताएका छन् ।
कुँवरले ब्यक्तिगत लगानीमा एकेडेमी सहितको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम सुरु गरेका थिए । निकै छोटो समयमा मैदान निर्माणको कामले पूर्णता पाएको छ ।
उद्घाटन शत्रमा हुने लिजेण्ड कप खेल्न पूर्व कप्तान पारस खड्का सहितका स्टार खेलाडी उत्रने भएपछि क्रिकेट रंगशालाको ओपनिङ चर्चामा छ ।