काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीको संस्मरणात्मक पुस्तक ‘कप्तान १९९८’ को विमोचन गरिएको छ ।
क्रियटिभ बुक्सले प्रकाशन गरेको कप्तान क्षेत्रीको पुस्तक ‘कप्तान १९९८’ शुक्रबार राजधानीमा विमोचन गरिएको छ । पुस्तक पुर्व कप्तान क्षेत्री, क्यानका पुर्व अध्यक्ष विनय राज पाण्डे, पुर्व कप्तान पवन अग्रवाल, विनोद दास, उत्तम कर्माचार्य र निरा राजोपाध्यायले सार्वजनिक गरे ।
विमोचनमा कप्तान क्षेत्रीले नेपाली क्रिकेटलाई आफ्नो आँखाबाट उतार्ने प्रयास गरेको बताए ।
पहिलो राष्ट्रिय टिमका उपकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा नेपालको कप्तानी सम्हालेका थिए ।
राष्ट्रिय टिमका पुर्व कप्तान रहेका क्षेत्रीले नेपालमा महिला क्रिकेटको अवधारणा सहित सुरुवात, विकास र विस्तारमा नेतृत्व गरेका थिए । उनैको नेतृत्वमा बाँकेको कोहलपुरमा अन्तराष्ट्रिय क्रिकेट मैदान निमार्णको पहल भएको थियो ।
क्रिकेट विवाद समाधानका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिका सदस्य समेत रहेका क्षेत्रीको पुस्तकमा क्रिकेटमा देखिएको चरम विवाद, राजनैतिक हस्तक्षेप, आईसीसीको निलम्बन र समाधानका उपाय समावेश गरिएको छ ।
क्रियटिभ बुक्सले यसअघि कीर्तिमानी भारोत्तोलन खेलाडी सुरेन्द्र हमालको आत्मकथा ओलम्पियन बजारमा ल्याएको थियो ।