काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले साउदी अरेबियामा हुने वाफ वुमेन्स च्याम्पियनसिपमा उपाधि जित्नको लागि खेल्ने बताएकी छन् ।
इन्डियन वुमेन्स लिग (आईडब्लुएल) क्लब सेथु एफसीबाट ‘ब्रेक’ लिदै राष्ट्रिय टिमको ड्युटीमा फर्किएकी एन्जिलाले एन्फा कम्प्लेक्समा शुक्रबार आयोजित बिदाईपछि भनिन्, ‘ती टिम (वाफ च्याम्पियनसिपमा सहभागि देश) पहिलोपल्ट खेल्दैछौं । एक टिमसँग जुनियर तहमा खेलेको अनुभव छ तर सिनियर टिमसँग खेलेका छैनौं । तर, हामी प्रतियोगितामा बलिया टिम हौं र च्याम्पियन बन्नकै लागि खेल्नेछौं । इन्डियन लिग खेलिरहेका ६ जना र इतिहास रच्दै फ्रान्सेली क्लबमा आबद्ध भएकी साम्बा (सावित्रा भण्डारी)ले हाम्रो टिमलाई थप बलियो बनाएको छ ।’
नेपाली महिला टिमले अन्तराष्ट्रिय प्रतियोगिता खेल्न थालेको ३८ वर्ष भएपनि हालसम्म उपाधि जित्न सकेको छैन । एक किसिमले दक्षिण एसियाली क्षेत्रमा उपविजेता टिमको छाप नै बनाएको छ । किनभने नेपाली महिला टिम साफ (दक्षिण एसियाली) च्याम्पियनसिपमा ५, दक्षिण एसियाली खेलकुदमा ३, नाडेज्दा कप (काराकोल, कीर्गिस्तान) र हिरो गोल्डकप (भुवनेश्वर, भारत)मा १–१ पल्ट गरी दशपल्ट फाइनलमा हारेको छ ।
‘हामी राम्रो टिम हौं र इतिहास बनाउँदै साउदीमा च्याम्पियन हुने विश्वास छ,’ कप्तान एन्जिलाले भनिन् ।

सेथुमासमेत कप्तान रहेकी एन्जिलासँगै डिफेन्डर गीता राना (सेथु एफसी), अमृता जैशी र रश्मिकुमारी घिसिङ (दुवै स्पोर्ट्स उडिसा), दीपा शाही र प्रिती राई (दुवै किकस्टार्ट) बाट राष्ट्रिय टममा फर्किएका हुन् । उनीहरू वाफ च्याम्पियनसिपपछि फेरि आईडब्लुएल जानेछन् । गत महिना फ्रान्सेली महिला फुटबलको शीर्ष डिभिजन क्लब गुइनग्याम्पमा हस्ताक्षर गर्दै युरोपेली क्लबमा आबद्ध हुने पहिलो नेपाली फुटबलर बनेकी साम्बा उतै (फ्रान्स)बाट साउदी जानेछिन् । उनी कीर्तिमानी गोलकर्ता पनि हुन् । नेपाली टिम आजै साउदी प्रस्थान गर्दैछ ।
पश्चिम एसियाली फुटबल महासंघ (वाफ)ले फेब्रुअरी १९ देखि २९ सम्म साउदीको जेद्दामा आयोजना गर्ने प्रतियोगितामा नेपालसँगै ग्वामले आमन्त्रित टिमको रुपमा प्रतिस्पर्धा गर्दैछ । फिफा वरीयतामा १ सय पाँचौं स्थानमा रहेको नेपालसहित प्यालेस्टाइन, सिरिया र इराक समूह ‘बी’ मा छन् । समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन जोर्डन, घरेलु टिम साउदी अरेबिया, ग्वाम र लेबनान छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनललाई छनोट हुने छन् । पाँचपल्टको वाफ च्याम्पियन जोर्डन (७४) र ग्वाम (९३) मात्रै वरीयतामा नेपालभन्दा माथि छन् ।
एसियाली महिला फुटबलकै कमजोर क्षेत्रमा पहिलोपल्ट प्रतियोगिता खेल्न लागेको सन्दर्भमा नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भने, ‘विपक्षी टिमका केही भिडियो हेरेको छु तर धेरै खेलेको पाइएन । त्यसैले कुन टिम कस्तो छ भन्ने धेरै जानकारी छैन । खेलेपछि जित्ने चाहना सबैको हुन्छ तर लक्ष्य उपाधि नै भनिहाल्न मिलेन । हामी राम्रो गर्ने प्रयास गर्नेछौं ।’ उनको नेतृत्वमा राष्ट्रिय टिमले पहिलोपल्ट खेल्न लागेको हो भने महिला टिम पाँच महिनापछि मैदानमा उत्रिन लागेको हो ।