काठमाडौं । नवलपुरको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा गण्डकी प्रदेश फुटबल टिम क्वार्टरफाइनल प्रवेश गरेको छ ।
कोल्हुवास्थित राईनो रगंशालामा बीएफसी चितवनलाई २–१ ले पराजित गर्दै गण्डकीले अन्तिम ८ मा स्थान बनाएको हो ।
गण्डकीको जितमा आकाश थपलिया र प्रशन्न श्रेष्ठले समान १–१ गोलको योगदान दिए । प्रसन्न खेलको म्यान अफ दि म्याच घोषित भए ।
गण्डकीले सेमिफाइनल प्रवेशका लागि मछिन्द्र क्लवसँग खेल्नेछ ।
खेलमा अग्रता गण्डकीले २९ औं मिनेटमा आकाश थपलियाको गोलमा लिएको थियो । दोस्रो हाफको सुरुवातमै बीएफसीका बिरेन्द्र लिम्बुले बराबरी गोल फर्काएका थिए ।
खेल सकिन १० मिनेट अघि प्रशन्नले गोल गर्दै गण्डकीलाई जित दिलाए ।
राइनो क्लब, मध्यविन्दु–४ नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने तथा सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा नेपाल आर्मी, सेन्टर कलेज फोर ब्रोर्दर, २८ बिगाहा, लुम्बिनी प्रदेश, संकटा क्लब, मछिन्द्र क्लब, हनामी बीएफसी क्लब, गण्डकी प्रदेश, बागमती प्रदेश, एपीएफ र पुलिस क्लब सहभागी छन् ।