पोखरा । दोस्रो संस्करणको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुस २६ गतेदेखि २८ गतेसम्म आयोजना हुने भएको छ ।
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता घाचोक मेधराज माविको प्राङ्गणमा हुने भएको हो ।
युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन् ।
खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको र गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका ८५ वटै पालिकाबाट खेलाडीहरुको सहभागिता रहने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपिककृष्ण अर्यालले बताए ।
प्रथम हुने टिमले ३ लाख रुपैयाँ र दोस्रो हुने टिमले २ लाख रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने माछापुच्छ्रे भलिबल सघंका अध्यक्ष राम पुनले जानकारी दिए ।
सेमिफाइनल पुग्ने अन्य दुई टिमलाई समान ५० हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर खेलाडीलाई समान ७ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ । टिम दर्ता शुल्क ५ हजार रुपैयाँ रहेको छ ।
पौष २३ गते दिनको ठिक ४ बजेभित्र टिम दर्ता गरिसक्नुपर्ने र पुस २५ गते खेल तालिका सार्वजनिक गरिने आयोजकले बताएको छ ।