काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले भारतलाई हराएको छ ।
आईतबार भएको खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले हराएको हो ।
भारतले प्रस्तुत गरेको २ सय ६० रनको लक्ष्य पाकिस्तानले १८ बल बाँकी छदै मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
पाकिस्तानका अजान अवेसले नटआउट १ सय ५ र कप्तान साद बेगले नटआउट ६८ रन प्रहार गर्दै पाकिस्तानलाई शानदार जित दिलाए ।
ओपनर समिल हुसेनलाई ८ रनमा गुमाएको पाकिस्तानका लागि अर्का ओपनर साहजेब खानले ६३ रनको इनिङ्स खेलेका थिए । अजानले शानदार शतकिय इनिङ्स खेलेपछि भारतले हार ब्यहोर्न बाध्य भयो ।
भारतका मुरुगन अभिषेकले २ विकेट लिएका थिए ।
सुरुवातमा ब्याटिङ गरेको भारतले ९ विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो ।
ओपनर आर्दश सिंहले ६२, कप्तान उदय सहारणले ६० र सचिन दासले ५८ रन बनाउनु बाहेक अन्यको प्रर्दशन खासै उल्लेख्य रहन सकेन ।
पाकिस्तानका मोहम्मद जिसानले सर्वाधिक ४ तथा आमिर हसन र उवेद साहले समान २ विकेट हा पारे । अराफत मिन्हसको नाममा एक विकेट रह्यो ।
जित सहित पाकिस्तान सेमिफाइनलको नजिक पुगेको छ । भारत र अफगानिस्तानको समान २ अंक भएको छ ।