कैलाली । धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग एलपिएलको आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन्।
समुह बि अन्तर्गतको खेलमा युथ अफ टिकापुरले दोश्रो जित दर्ता गर्ने क्रममा धनगढी क्रिकेट एकेडेमीलाई पराजित गर्यो।
समुह ए अन्तर्गतको खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनलाई पराजित गर्दै दोश्रो जित दर्ता गर्यो ।
जितसंगै युथ अफ टिकापुर र धनगढी स्पोर्ट्स क्लबले सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
पहिलो खेलमा युथ अफ टिकापुरले धनगढी क्रिकेट एकेडेमीलाई ३३ रनले पराजित गर्यो।
युथ अफ टिकापुरले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभर ब्याटिङ्ग गरेपनि ८ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सक्यो।
धनगढीको लागि शार्थक धितालले सर्वाधिक ३७ रन बनाए। मान साउदले १८ तथा विजय रानाले १२ रनको योगदान दिए।
युथ अफ टिकापुरका गौतम केसीले ३, सुमित महर्जनले २ तथा मोहम्मद हुसेन र प्रकाश जैसीले १-१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ्ग गरेको युथ अफ टिकापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३५ रन बनायो।
युथ अफ टिकापुरको लागि हरि चौहानले सर्वाधिक २९ रन योगदान दिए । गौतम केसीले २६, प्रदिप ऐरीले १४, प्रकाश जैसीले १३ रन बनाए। अतिरिक्तको रुपमा धनगढी क्रिकेट एकेडेमीले २६ रन खर्चियो।
धनगढी क्रिकेट एकेडेमीका युवराज खत्री एक्लैले ४ विकेट लिए । निरज ऐरले २ तथा हिक्मत महरा र मान साउदले १,१ विकेट लिए।
दोश्रो खेलमा धनगढी स्पोर्ट्स क्लबले शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनलाई ६ विकेटले पराजित गर्यो। शुक्लाफांटाले दिएको १ सय १० रनको लक्ष्य धनगढीले १३ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेटायो।
धनगढी स्पोर्ट्स क्लबको लागि प्रनित थापाले अविजित अर्धशतकीय योगदान दिए। प्लेयर अफ द म्याच समेत घोषित भएका थापाले ३४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे।
बसन्त कार्कीले अविजित २७ रन बनाए। ३२ रनमा ४ विकेट गुमेको अवस्थामा थापा र कार्कीले पाँचौ विकेटको लागि अविजित ७८ रनको साझेदारी गरे।
शुक्लाफांटाका सुशील रावलले २ तथा कैलाश ऐर र बसन्त खत्रीले १-१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ्ग गरेको शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसनले ७ विकेट गुमाएर १ सय ९ रन बनायो।
शुक्लाफांटाको लागि किरण ठगुन्नाले सर्वाधिक २९ रन बनाए । बिशाल ऐरले २३, रोशन साउदले १७ तथा बसन्त खत्रीले १३ रन योगदान दिए।
धनगढी स्पोर्ट्स क्लबका अमर सिंह रौटेलाले ३ विकेट लिए । भोज राज भट्टले २ तथा दिपक ठकुरी र भुवन कार्कीले १-१ विकेट लिए।
प्रतियोगिता अन्तर्गत सातौँ दिन शनिबार विहान युथ अफ टिकापुर र कैलाली मल्टिपल क्याम्पस तथा दिउँसो सुदूरपश्चिमान्चल एकेडेमी र गरुडा नगरपालिका बीच खेल हुनेछ।
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।