काठमाडौं । फ्रेन्चाईच टिम ललितपुर सिटी एफसीले नेपाल सुपर लिग एनएसएलको शनिबारको खेलमा १ हजार फ्रि–टिकेट बाँड्ने भएको छ ।
लाखे समर्थकलाई खेल हेराउने उद्धेश्यले ललितपुरले शनिबार १ हजार टिकट निशुल्क बाँड्ने निर्णय गरेको हो ।
एनएसएलमा शनिबारको दोस्रो खेलमा ललितपुर सिटी एफसीले धनगढी एफसीसँग खेल्दैछ ।
खेलमा दर्शकको उपस्थिती बढाउन ललितपुरले १ हजार समर्थकलाई निशुल्क टिकट बाँड्न लागेको हो । यसअघि पोखरा थन्डर्सविरुद्धको खेलमा ५ सय निशुल्क टिकट समर्थकलाई वितरण गरेको थियो ।
‘समर्थकलाई क्लबसँग जोड्न यो प्रयासको सुरुवात गरेका हौं । यसले नेपालमा फ्यान कल्चर बढ्ने अपेक्षा गरेका छौं ।’ क्लबका प्रबन्ध निर्देशक आलोकजंग जोशीले भने ।
‘हामीले सुरुवातमा समर्थकलाई रंगशाला तान्नुपर्छ । यसले विस्तारै नेपालमा फुटबल संस्कृतिको विकास गर्न सहयोग पुग्छ भन्ने लागेको छ ।’ जोशीले थपे ।
काठमाडौंको त्रिपुरेश्वरस्थित युनाईटेड वल्ड ट्रेड सेन्टरको भुँइ तलमा रहेको पेपे पिज्जा र घान्द्रुक नेपाली किचेनमाबाट फ्रि–टिकट वितरण गरिने बताईएको छ । टिकट वितरण दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
सुरुवातमा आउने समर्थकलाई प्राथमिकताका आधारमा टिकट वितरण गरिने ललितपुर सिटी एफसीले जनाएको छ । प्रतियोगितामा अपराजित रहेको ललितपुर शीर्ष स्थानमा उक्लिने लक्ष्य सहित प्रतियोगिताको तेस्रो खेल शनिबार साढे ५ बजे खेल्दैछ ।