पोखरा । केपी ओली कप राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि शुक्रबार आर्मी र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुदैछ ।
पोखरा क्रिकेट रंगशालामा हुने खेल मध्यान्न साढे १२ बजे सुरु हुनेछ ।
पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई हराएर आर्मी फाइनल पुगेको हो भने मधेशले अर्को विभागीय टिम एपीएफको सिकार गर्दै उपाधि भिडन्त पक्का गरेको थियो ।
विनोद भण्डारी कप्तानीको आर्मीमा राष्ट्रिय टिमका खेलाडीको बलियो उपस्थिती छ ।
बिनोदसँगै राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल, भिम सार्की, कुशल मल्ल, सोमपाल कामी, राजेश पुलामी, विवेक यादव, साहब आलम र जितेन्द्र मुखिया जस्ता खेलाडी आर्मीको टिममा छन् । कागजमा आर्मी उपाधिको बलियो प्रत्यासी मानिन्छ ।
तर एपीएफ जस्तो बलियो टिमलाई हराएर फाइनल पुगेको मधेश पनि कमजोर भने छैन । हरीशंकर साह कप्तानीको मधेशमा अनिल साह, पवन सरार्फ, हिमांश दत्त जस्ता परिचित अनुहार छन् ।
सेमिफाइनलमा चलेका अनिल साह र इमरान शेखले आर्मीलाई फाइनलमा निराश बनाउन सक्छन् ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको विजेता टिमले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
विधागत तर्फका उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।