काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा आज बुधबार ललितपुर सिटी एफसी र पोखरा थन्डर्स भिड्दैछन् ।
दोस्रो संस्करणको एनएसएलका दुई बलिया टोली लिग चरणको दोस्रो खेलमा भिड्न लागेको हुन् ।
दशरथ रंगशालामा उत्रदै गर्दा दुवै टिम लगातार दोस्रो जित निकाल्ने प्रयासमा हुनेछन् ।
पोखराले पहिलो खेलमा एफसी चितवनलाई १–० ले निराश बनाएको थियो । ललितपुरले बुटवल लुम्बिनीलाई २–० गोल अन्तरले शिकार बनाएको थियो ।
खेल दशरथ रंगशालामा साढे ५ बजे सुरु हुनेछ ।
दुवै टिमका विदेशी खेलाडीको राम्रो उपस्थिती छ, जसमा नेपाली स्टार फुटबलरले दुवै टिम सजिएका छन् ।
अनन्त तामाङको कप्तानीको ललितपुरले पहिलो खेलमा राम्रो प्रभाव छाडेको थियो । सोही प्रर्दशनले ललितपुरलाई उपाधिको दाबेदार टिमको रुपमा उभ्याएको छ । दिनेश हेन्जनले पहिलो खेलमा बुटवलविरुद्ध राम्रो प्रर्दशन मात्र गरेनन्, ललितपुरका लागि पहिलो गोल समेत गरेका थिए ।
कप्तान अनन्तको हेडर गोलले ललितपुरले तीन अंक पक्का गरेको थियो । घरेलु फुटबलका उत्कृष्ट मिडफिल्डर मानिने सेसेहाङ आङदेम्बे ललितपुरसँग रहनेछन् ।
बुटवलविरुद्ध पहिलो खेलमा छाएका इमोह इजेकिल हेर्न लायक खेलाडी हुन् । उनको स्पिड, स्किल र टचले पहिलो खेलमा ललितपुरले राम्रो प्रभाव जमाएको थियो । अग्दा कदका अर्का विदेशी खेलाडी पापा इबो केबेबाट ठुलो अपेक्षा ललितपुरले गरेको छ ।
रातो कार्डका कारण मुख्य प्रशिक्षक इयान गिलन टच लाइनमा देखिने छैनन् । उनी दर्शकदिर्घामा बसेर ललितपुरको दोस्रो खेल हेर्नेछन् । यसैपनि ललितपुरले समर्थकका लागि बुधबार ५ सय वटा टिकट निशुल्क बाँड्दैछ ।
उता, पोखराका लागि पहिलो खेलमा जोड एडुले राम्रो प्रभाव छाडेका थिए । तीन अंक दिलाएका मोसेस टुवाम अर्का प्रभावशाली विदेशी खेलाडी हुन् ।
मार्की खेलाडी आयुश घलानदेखि दिनेश राजवंशीको उपस्तिथीले पोखरालाई बलियो बनाएको छ । नेपालमा राम्रा अनुभव बटुलेका गोलकिपर योभिस प्रिसोले पोखराको गोलकिपिङ लाइन सम्हाल्नेछन् । लगातार दोस्रो जित निकाल्ने कोशिश प्रशिक्षक नविन न्यौपानेले गर्नेछन् ।