अर्जुन काफ्ले
पथरी । पथरीशनिश्चरे प्रिमियर लिग (पीपीएल)को उपाधि आइतबारे अस्त्रले उचालेको छ ।
शनिबार गोर्खा लिजेण्डलाई ६ बिकेटले हराउँदै आइतबारे नयाँ च्याम्पियन बनेको हो ।
मोरङको पथरीशनिश्चरेमा आयोजित फ्रेन्चाइज क्रिकेट लिगको दोस्रो सहभागीतामै आइतबारेले उपाधि उचाल्न सफल भएको हो ।
फाइनलमा आइतबारेका नृत्य खडोलियाले शतकिय इनिङ्स खेल्दै टिमलाई उपाधि जिताउन सफल रहे ।
टस हारेर ब्याटिङ गरेको गोर्खाले निर्धारित २० ओभरमा ४ बिकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
गोर्खाका लागि सुजन थपलियाले ७१ रन बनाएका थिए । ज्ञानेन्द्र श्रेष्ठले २६ र समित राईले १३ रन बनाए । आइतबारेका दिपेश भण्डारीले ३, दिपक नेपालीले २ तथा अभिषेक बिकले १ बिकेट लिएका थिए ।
१ सय ५० रनको लक्ष्य सहित मैदान उत्रिएको आइतबारेले १५ ओभर ४ बलमा ४ बिकेट गुमाएर लक्ष्य पूरा गर्यो । जसमा खडोलियाले अबिजित १ सय १० रन बनाए । मंगेश राईले अबिजित १४ रनको योगदान गरे । गोर्खाका आभाष पाहिम र फडेन्द्र पौडेलले समान २-२ बिकेट लिए ।
७ ओभरमा २८ रन बनाउँदा ४ बिकेट गुमाएको अबस्थामा आइतबारेलाई जित दिलाउन नृत्यले बिष्फोटक ब्याटिङ गर्दै ११ छक्का र ५ चौकाको मद्धतमा सतक जोडेका थिए ।

बिजेता आइतबारे अस्त्रलाई पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापोले ट्रफ्री प्रदान गरे । बिजेताले १ लाख ११ हजार रुपैयाँ र ट्रफी जित्दा उपबिजेता गोर्खाले ७१ हजार रुपैयाँमा चित्त बुझायो ।
बिधागततर्फ आइतबारेका खेलाडीको बर्चस्व रह्यो ।
पहिलो संस्करणको उपाधि रोयल किङले जितेको थियो भने दोश्रो र तेश्रो संस्करणको उपाधि सातबाघले जितेको थियो ।
खेलपाटीकर्मी काफ्ले सम्मानित
पथरीशनिश्चरे प्रिमियर लिग कमिटिले समाचारका माध्यमबाट खेल क्षेत्रमा योगदान पुर्याएको भन्दै खेलपाटीकर्मी अर्जुन काफ्लेलाई सम्मान गरेको छ ।
समापन कार्यक्रममा काफ्लेलाई नगर प्रमुख मोहन तुम्वापोले ढाका टोपी र सम्मान पत्रले सम्मान गरेका हुन् । पहिलो संस्करणबाटै काफ्लेले क्रिकेट प्रतियोगिताका साथै पथरीलाई केन्द्र बनाएर खेलकुदका समाचार सम्प्रेष्ण गर्दै आएका थिए ।
