काठमाडौं । श्रीलंका क्रिकेट बोर्ड एसएलसीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले निलम्बन गरेको छ ।
बोर्डमा सरकारको हस्तक्षेपपछि आईसीसीले तत्काल प्रभावबाट उसको सदस्यता खारेज गरेको हो ।
भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाको प्रदर्शन निकै निराशाजनक रह्यो । टोलीले ९ खेलमा २ मात्रै जित्न सकेको छ ।
आईसीसीको त्रैमासिक बैठक १८ देखि २१ नोभेम्बरसम्म अहमदाबादमा हुनेछ। श्रीलंकाको सरकारले हालै श्रीलंका क्रिकेट बोर्डलाई पूर्ण रूपमा विघटन गरेको छ । यसैलाई ध्यानमा राख्दै आईसीसीका अधिकारीहरूले अनलाइन बैठक गरेर बोर्डलाई निलम्बन गरेका हुन् ।
आईसीसीले श्रीलंका क्रिकेट बोर्डमा सरकारको अत्यधिक हस्तक्षेप भएको बताएको छ ।
कुनै पनि आईसीसी सदस्यको काममा सरकारी हस्तक्षेप हुनुहुँदैन । तर पछिल्ला केही दिनदेखि श्रीलंकाको बोर्डले खुलेर काम गर्न नसकेकोले बोर्डलाई तत्काल प्रभावबाट निलम्बन गर्न लागिएको हो ।
भारतसँग पराजित भएपछि खेलकुदमन्त्री रोशन रणसिङ्घेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै श्रीलंका क्रिकेट बोर्डलाई देशद्रोही र भ्रष्ट भनेका थिए ।
उनले सञ्चालक समितिका सदस्यहरुको राजीनामा समेत मागेका थिए । त्यसपछि श्रीलंका क्रिकेट सचिव मोहन डी सिल्भाले शनिबार नोभेम्बर ४ मा आफ्नो पदबाट राजीनामा दिएका थिए ।